सवारीचालकमा उच्च रक्तचाप र सुगर धेरै देखियो (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । सवारीचालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षणको क्रममा अधिकांशमा उच्च रक्तचाप (प्रेसर) र सुगर रोगको समस्या पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दी र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आज आइतबार स्वास्थ्य परीक्षण गर्दा सवारीचालक तथा सहचालकहरुमा यस्तो समस्या देखिएको हो ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि ट्राफिक सप्ताह–२०८१ अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कमा सवारीचालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । उनीहरुको स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालक र सहचालकहरुमा प्रेसर तथा सुगरको समस्या पहिचान भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बेनी–जोमसोम सडकखण्ड भएर आवतजावत गर्ने विभिन्न प्रकृतिका सवारीसाधन हाँक्ने चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गराएका कुल ४६ जनामध्ये अधिकांशमा प्रेसर र सुगरको समस्या पहिचान भएको बेनी अस्पतालका मेडिकल अधिकृत डाक्टर रामु सापकोटाले बताउनुभयो । स्वास्थ्य परीक्षण गरेकामध्ये अधिकांशमा उच्च रक्तचाप प्रेसर तथा सुगर देखिएको हुँदा खानपानमा विशेष ध्यान दिन र समय समयमा स्वास्थ्य चेकजाँच गर्न सुझाव दिइएको उहाँले जानकारी दिनुभयो ।

ट्राफिक सप्ताह कार्यक्रमअन्तर्गत बेनी अस्पताल र नेपाल नेत्रज्योति संघ जिल्ला शाखा म्याग्दीसँगको सहकार्यमा ट्राफिक प्रहरीले चालक तथा सहचालकहरुलाई लक्षित गरेर प्रेसर, सुगर र आँखाको परीक्षण शिविर सञ्चालन गरेको थियो । शिविरमा मेडिकल अधिकृत डा. सापकोटा, बेनी अस्पतालका हेल्थ असिस्टेन्ट लिमा पुन र नेत्रज्योति संघ आँखा उपचार केन्द्र बेनी म्याग्दीका प्राविधिक विकास पूर्जाले सवारीचालक र सहचालकको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो ।

लामो तथा छोटो दूरीमा सवारीसाधन हाँक्ने चालक तथा सहचालकहरुको स्वास्थ्य अवस्था पत्ता लगाउन र ट्राफिक नियमबारे सचेतना फैलाउने उद्देश्यसहित ट्राफिक सप्ताहअन्तर्गत स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक राजकुमार केसीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा ट्राफिक सप्ताहअन्तर्गत समुदायस्तरमा सचेतनामूलक विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार