संसद कुण्ठा र आक्रोश व्यक्त गर्ने थलो होइनः पूर्वसभामुख घर्ती

काठमाडौं । पूर्वसभामुख ओनसरी घर्तीले संघीय संसदमा नीति तथा कार्यक्रममाथिको छलफललाई विषयान्तर गरिएको भन्दै आपत्ति जनाउनुभएको छ। संसद आमजनताको भावना अभिव्यक्त गर्ने र आफ्ना प्रतिनिधिमार्फत् जनताले सार्वभौमसत्ताको प्रयोग गर्ने थलो भए पनि त्यसलाई कुण्ठा र आक्रोश अभिव्यक्त गर्ने माध्यम बनाइएको टिप्पणी गर्नुभयो ।

उहाँको संकेत प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित थियो। सरकारको नीति तथा कार्यक्रममाथि बोल्ने क्रममा ओलीले बिहीबार सत्ता गठबन्धनविरूद्ध तीन घण्टा लामो राजनीतिक मन्तव्य दिनुभएको थियो । ‘संसद भनेको आम जनताको भावना अभिव्यक्त गर्ने थलो हो।

जनताको सार्वभौम सत्ताको उच्चतम् प्रयोग आफ्ना प्रतिनिधिमार्फत् अभिव्यक्त हुने गर्दछ’, घर्तीले भन्नुभयो, ‘तर केही दिनयता संसदमा भइरहेको नीति तथा कार्यक्रममाथिको छलफलको रूझान हेर्दा एकातिर कुण्ठा र आक्रोश अभिव्यक्त भइरहेको छ भने, अर्कातिर मूल विषयबाट विषयान्तर हुने प्रवृति देखिएको छ।’ उहाँले मुलुकको विकासका लागि सत्तापक्ष र प्रतिपक्षबीच हातेमालो हुनुपर्नेमा जोड दिनुभयो।

घर्तीले विगतमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले मेहनतपूर्वक दिएका सुझाव बेवास्ता गर्ने परम्परा रहेको भन्दै यसपटक त्यसो नगर्न सरकारलाई सुझाव दिनुभयो। नीति तथा कार्यक्रमले आधारभूत रूपमा सही विषय समेटेको भन्दै उनले कोभिड(१९ का कारण प्रभावित अर्थतन्त्रको पुनरूत्थान, शोधानान्तर घाटालाई न्यूनीकरण, मूल्यवृद्धि नियन्त्रण तथा कृषि, उद्योग र ऊर्जा क्षेत्रमा उत्पादन वृद्धि एवं पर्यटन प्रवर्द्धनको नीति सही रहेको उल्लेख गर्नुभयो।

नीति तथा कार्यक्रममा गरिबी निवारण र रोजगारी वृद्धिका लागि ठोस कार्यक्रम, समेटिनु, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा थप नयाँ कार्यक्रम घोषणा हुनु सकारात्मक भए पनि विगतमा कृषि क्षेत्रमा राज्यले गरेको लगानीबाट अपेक्षाकृत प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो । ३० वर्ष यता कूल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान निरन्तर घट्दो अवस्थामा रहेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

सन् १९९०र९१ मा कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ४७.६८ प्रतिशत रहेकामा गत आर्थिक वर्षसम्म आउँदा त्यो खुम्चिएर २५.०८ प्रतिशतमा झरेको उहाँले बताउनुभयो । यसले कृषि क्षेत्रमा राज्यका तर्फबाट गरिएको लगानी र प्राप्त भएको प्रतिफलका बीचमा ठूलो खाडल रहेको छ’, उहाँले भन्नुभयो, ‘यो अवस्थाको सुधारका लागि कृषिको विकासलाई नै प्रस्थान बिन्दु बनाउनुपर्ने हुन्छ।’ सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार