म्याग्दी । अभिनेत्री दीया पुनले शुक्रबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५, शिख घर भएकी नेपाली चलचित्रकी नायिका दिया पुनले विश्व किर्तिमानधारी निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उहाँ सगरमाथा शिखरमा पुग्नुभएको हो ।
निर्मल र दीयासहित २० जनाको आरोही दल बिहान ८,८४८.८६ मिटर उचाइको सगरमाथा चढेको हो । सबैजना चुचुरोबाट अहिले साउथ पोलमा सुरक्षित र न्यानो भएर फर्किएको टोलीले जनाएको छ । यस अघि उहाँले नेपालको मनास्लु र अर्जेटिनाको अकोनकागुवा हिमाल आरोहण गरिसक्नुभएको छ । चार जना शेर्पाले अक्सिजनको सहायताबिनै चुचुरो चुमेका थिए ।
आफ्नै ४२ लाख रुपैयाँ खर्चमा दीयाले तीन च्यारिटी उद्देश्यले सगरमाथा चढ्नुभएको हो । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस टुगेदर), कोलचेस्टर अस्पताल र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् । दीया सगरमाथा चढ्ने दोस्रो नेपाली अभिनेत्री बन्नुभएको छ । दीयाले नेपाली चलचित्रहरू ‘वीर विक्रम’, ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दया रानी’ र ‘मन्त्र’मा अभिनय गरिसक्नुभएको छ ।