एएफसी एसियन कप : जोर्डन र नेपाल भिड्दै

काठमाडौँ । जोर्डनविरुद्धको खेलसँगै नेपालले आजबाट कुवेतमा हुने एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणको यात्रा सुरुवात गर्नेछ । कुवेत सिटीस्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा हुने खेल स्थानीय समयअनुसार सवा १० बजे र नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।

नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी तथा कप्तान नवयुग श्रेष्ठले बलियो टोली जोर्डनलाई कडा टक्कर दिने बताउनुभएको छ । हाल २३ खेलाडीसहित ३३ सदस्यीय नेपाली टिम कुवेत सिटीमा छ । हालसम्म नेपाल र जोर्डनबीच चार पटक प्रतिस्पर्धा भएको छ । एक खेल बराबरीमा सकिएको छ भने ३ खेल जोर्डनको पक्षमा गएको छ । पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण नेपाली टिममा अनुभवी ११ खेलाडी रहेका छैनन् ।

कप्तान किरण कुमार लिम्बू, अन्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्ति मगर लगायत खेलाडी टिम बाहिर छन् । युवा खेलाडीले जोर्डनविरुद्ध प्रमाणित गर्ने अवसर रहेको प्रशिक्षक अल्मुताईरीले बताउनुभएको छ । ‘हामीलाई घेरै दबाब छैन । किनभने हाम्रो समूहमा हामी पोर्ट ४ को राष्ट्र हौँ । यसैकारण हामीमा कुनै दबाब छैन । तर, एक टिमको रुपमा हामी केही गर्न चाहन्छौं । यो खेल नेपाली राष्ट्रिय टिमका लागि महत्वपूर्ण छ ।

आज खेलमा उत्कृष्ट नतिजाका लागि हामीले केही गर्न आवश्यक छ । हामीले दोहामा हुँदा भारत र अस्ट्रेलियाविरुद्धको जोर्डनको खेल हेरेका थियौं । यसैकारण उनीहरु कस्तो खेल्छन् र के गर्न सक्छन् भन्ने हामीले विश्लेषण गरेका छौुं, अल्मुताईरीले भन्नुभयो । उहाँले अगाडि थप्नुभयो, ‘हामीले जोर्डनलाई रोक्न सक्यौं भने कुवेत र इन्डोनेसियासँग पनि राम्रो नतिजालाई लक्षित गर्नेछौं । हामी २०२६ को विश्वकप छनोटको तयारी गरिरहेका छौं ।

हामीसँग ११ जना नयाँ खेलाडी छन् र उनीहरुको औसत उमेर २१ वर्ष छ । समूहमा जोर्डन निर्णायक टोली हो । हामी उनीहरुसँग राम्रो नतिजाका लागि प्रतिस्पर्धा गर्नेछौं । हामी पनि छनोटमा कठिन टिम बन्न चाहन्छौं । जोर्डनको प्रतियोगितामा छनोट हुने धेरै सम्भावना छ । दोस्रो स्थानमा कुवेत र इन्डोनेसियाको सम्भावना छ ।’जोर्डनपछि नेपालले घरेलु टोली कुवेत र इन्डोनेसियासँग खेल्नेछ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार