मेलम्चीको विकल्पमा ३ खोलाको पानी ल्याउन अध्ययन भइरहेको छ : खानेपानी मन्त्री

काठमाडौं । सरकारले मेलम्चीको विकल्पका रुपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ ।

प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची आयोजनाको विकल्प र पूरक योजनाको रुपमा तीन खोलाको अध्ययन भइरहेको बताउनुभएको हो । ‘मेलम्ची खानेपानी योजनाको विकल्प र पूरकको रुपमा काठमाडौ उपत्यकाको दिगो खानेपानी व्यवस्थापनका लागि मकवानपुरको सिस्नेरी खोला, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न अध्ययन भइरहेको छ’ उहाँले भन्नुभयो ।

वर्षायाम सुरु भएको कारण हाल सरकारले काठमाडौंमा मेलम्चीको पानी ल्याएको छैन । मन्त्री चौधरीका अनुसार वर्षायाममा मेलम्ची खोलामा आउन सक्ने बाढीले सुरुङमा क्षति पुर्‍याउन सक्ने हुनाले पानी ल्याउन बन्द गरिएको हो । यसअघि २०७८ असार १ गते आएको बाढीले मेलम्चीको हेडवर्क्स (मुहान) र अन्य संरचना ध्वस्त पारेको थियो । हेडवर्क्ससम पुग्ने सडक पनि बाढीले बगाएको थियो ।

सरकारले चैत मशान्तदेखि मेलम्चीको पानी अस्थायी रुपमा वितरण गरे पनि हाल बन्द गरिएको छ । ‘मेलम्ची जलाधरमा गत वर्ष आएको बाढीका कारण मेलम्ची नदी क्षेत्रमा करोडौं धनमिटर गेग्रान थुप्रिएको छ र उक्त गेग्रान वर्षामा लेदोको रुपमा बग्ने सम्भावना छ’ उहाँले भन्नुभयो, ‘सुरुङ सुरक्षाका लागि मौसमविदको सुझाव र अर्लि वार्निङ सिष्टम र विज्ञको सुझावका लागि वर्षायामभरि बन्द गरिएको छ ।’

मेलम्चीको पानी बन्द भएको बेला काठमाडौं उपत्यकामा पानी आपूर्ति कम हुन नदिन बागमतीबाट सुन्दरीजलमा पानी पथान्तरण गर्ने र बोरिङहरुको क्षमता पनि बढाउने मन्त्री चौधरीले बताउनुभएको छ । एसियाली विकास बैंकको टोलीले मेलम्ची खोलाको भौगर्भिक अवस्थाको अध्ययन गरिरहेको भन्दै मन्त्री चौधरीले सो अध्ययन प्रतिवेदन अनुसार आगामी आर्थिक वर्षदेखि पहिरो नियन्त्रणको काम अघि बढाउने जानकारी दिनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार