काठमाडौँ । एमालेका वरिष्ठ अध्यक्ष तथा सांसद ईश्वर पोखरेलले एसपीपीबारे सत्यतथ्य पत्ता लगाउन समिति गठनको माग गर्नुभएको छ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा पूर्वउपप्रधान तथा रक्षामन्त्री पोखरेलले एसपीपीबारे कुन मितिमा कसले के गरेका थिए भन्नेबारे स्पष्ट पार्न समिति गठनको माग गनुभएको हो ।
एमाले सांसद भीम रावल र कांग्रेस सचेतक पुष्पा भुसालले सन् २०१९ मा नेपाल एसपीपीमा सहभागी भएको र त्यतिबेला प्रधानमन्त्री र रक्षामन्त्रीको जिम्मेवारीमा को थियो भन्ने प्रश्नको जवाफमा पोखरेलले उक्त माग गर्नुभएको हो । ‘आउने दिनमा यस्तो तलवितल नहोस् भनेर समिति बन्नुपर्छ । कसको पालामा के भएको थियो भन्ने जान्न समिति बन्नु जरुरी छ,’समिति सभापति पवित्रा निरौला खरेलसँग पोखरेलको माग थियो ।एसपीपीबारे कुन सरकार र मन्त्रीका पालामा के काम तथा पत्राचार भएका थिए भन्ने समयक्रम स्पष्ट पार्नुपर्ने पोखरेलको भनाइ थियो ।
‘एसपीपीको क्रोनोलोजीबारे समितिले थाहा पाउनुपर्छ र एसपीपीबारे थाहा पाउनुपर्छ । समितिमा जे मनमा लाग्यो त्यही भनिएको छ र,’ उहाँले भन्नुभयो ।पोखरेलले १० सेप्टेम्बर २०१५ मा जंगी अड्डाले रक्षा मन्त्रालयलाई एसपीपी सहभागिताका लागि पत्र पठाएको त्यसको २० दिनपछि तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री सुशील कोइरालाले स्वीकृति दिएको र सोही आधारमा ओली नेतृत्वमा सरकार बनेपछि सेनाले अमेरिकी दूतावासलाई पत्र लेखेको दाबी गर्नुभयो । सन् २०१९ मा एसपीपीलाई आईपीएस सैन्य गठबन्धनमा जोडेपछि सचिवकै नेतृत्वमा समिति गठन गरेको र संलग्न नहुने बताउनुभयो । ekantipurबाट