झापाको रतुवामा बाढीले १३ परिवार विस्थापित

झापा । अविरल वर्षापछि झापाको रतुवा खोलामा आएको बाढीले १३ परिवार विस्थापित भएका छन्। गए रातिदेखि परेको अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढीले दमक वडा नं. ७ रेडक्रस भवन पछाडि खोला किनारको वस्तीमा कटान गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

कटानमा परी दमक ७ बस्ने खड्ग लिम्बू, विष्णु लिम्बू , सुवास लिम्बू, रामकुमारी लावती, गोमा तामाङ, सूर्यमान आचार्य ,बिमल किस्कू , राजेश किस्कू , मनोज मास्के , भारती तामाङ , लाक्पा शेर्पा , डिकबहादुर गुरुङ र दिपक गुरुङको परिवार बिस्थापित भएका हुन्। उनीहरुको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा विस्थापितलाई सारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए।सोही खोलामा आज बिहान आएको बाढीले गौरादह ६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेका छन्।

मानव बस्ती डुबानमा परेको खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।‘बस्तीमा २ फिट जति पानी पसेको छ। अन्य क्षति भएको छैन,’ जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी पाठकले भने।पानी घट्ने क्रममा रहेकोले मानिसहरु आफ्नै घरमा रहेको उनले जानकारी दिएका छन्। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार