बाटोमा हिँडिरहेका डाक्टरलाई कुटे ट्राफिक प्रहरीले

ललितपुर । ललितपुरको पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत एक जना डाक्टरलाई ट्राफिक प्रहरीले कुटेका छन् । आइतबार राति पौने ९ बजे ड्युटी सकेर घर फर्किरहेका (मेडिकल अफिसर) डाक्टर कुलबहादुर घिसिङमाथि ट्राफिक प्रहरी जवान राजेन्द्र थापाले कुटपिट गरेका हुन्।

घिसिङ कुसुन्तीमा बस्नुहुन्छ । पुल्चोकस्थित प्रतिष्ठानमा काम गर्ने उहाँ दिनहुँ ड्युटी सकेर पैदल घर फर्किनुहुन्छ । त्यो दिन पनि उनी यातायात व्यवस्था विभाग एकान्तकुनाबाट घरतर्फ जाँदै हुनुहुन्थ्यो । ‘रिङरोडको फुटपाथ बाटो हुँदै म एक्लै घर जाँदै थिएँ,’ उहाँले भन्नुभयो, ‘उताबाट ट्राफिक दाइ आइरहनुभएको थियो। त्यही बेला उहाँले झर्केर भाइ तिमी किन टाँसिएर हिँडिरहेको भन्ने कुरा गर्नुभयो।’

नजिकै ट्राफिक प्रहरी चेकिङ भइरहेको थियो भने ट्राफिक प्रहरी जवान थापा एक्लै हिँडिरहेका थिए। थापाले त्यसरी झर्केर बोलेपछि घिसिङले पनि भन्नुभयो, ‘हैन सर, म आफ्नै बाटो हिँडिरहेको हो।’त्यसपछि थापाले बढीबढी कुरा गर्ने भन्दै मुखमा एक मुक्काले हिर्काएको घिसिङले बताउनुभयो । त्यसरी मुक्काले हिर्काएपछि उहाँको नाकबाट रगत बग्न थाल्यो। उहाँ बेहोस जस्तै हुनुभयो ।

‘मेरो नाकबाट रगत पनि बग्न थालेको थियो। म बेहोस जस्तै भएको थिएँ। त्यसपछि मैले म डाक्टर हुँ भनेर आइडी कार्ड पनि देखाएँ,’ उहाँले भन्नुभयो,‘त्यसपछि पनि उहाँले आक्रोशित भएर तिमी यहाँबाट जाने कि नजाने भनेर लखेटे।’त्यसरी कुटपिट भएपछि नजिकै रहेका अर्का ट्राफिक प्रहरी पनि त्यहाँ पुगेका थिए। घटनाबारे बताएपछि घिसिङको उपचारको लागि नजिकैको अल्का अस्पताल लगिएको छ ।

घिसिङको अहिले उपचार भइरहेको छ। नाकमा फ्याक्चर भएको बताए पनि अपरेशन नै गर्नुपर्ने अवस्था नभएको उहाँले बताउनुभयो । अस्पतालमा भर्ना भएपछि जावलाखेल ट्राफिक प्रहरीका इन्चार्ज आएर पनि भेटेको र कारबाहीको आश्वासन दिएको उहाँले बताउनुभयो । यता जिल्ला प्रहरी परिसर ललितपुर प्रहरी उपरीक्षक शिद्दीबिक्रम शाहले घटनाबारे पुष्टि गर्नुभएको छ ।

उहाँले त्यसरी कुटपिट गर्ने ट्राफिक प्रहरी थापामाथि कारबाहीको प्रक्रिया पनि अगाडि बढाइसकेको बताउनुभयो। ‘घिसिङ हिँडिरहेका बेला ट्राफिक प्रहरीसँग ठोक्किनुभयो। ठोक्किएपछि किन यसरी हिँडेको भन्ने कुरा भएपछि विवाद भयो । विवाद हुँदा भिडिओ बनाउन लागेको भन्ने भनाइ छ। त्यसपछि मोबाइल खोस्दाखेरी चोट लागेको भनेका छन्,’ उहाँले भन्नुभयो,‘नाकमा चोट लागेको छ। डाक्टरको उपचार भइरहेको छ।

प्रहरीलाई कारबाही गर्ने काम अगाडि बढिसकेको छ।’उहाँका अनुसार डाक्टर घिसिङको उपचारको कुरा भए पनि कारबाही गरी पाऊँ भन्दै जाहेरी परेको छैन। ‘जाहेरी चाहिँ परेको छैन । हामीले घटना नोटिसमा लिएर उपचार गराइराखेका छौं । के अनुसार कारबाही हुनुपर्छ भनेर आउनुहुन्छ त्यसअनुसार हामी अगाडि बढ्छौं,’ उहाँले भन्नुभयो ।

यसअघि पनि ड्युटीमा खटिएका प्रहरीका फोटो-भिडिओ खिच्दा फोन, क्यामरा लगायत खोस्ने गरेको घटना भएका छन् । यसरी ड्युटीमै खटिएका प्रहरीको फोटो खिच्न पाउने कि नपाउने भन्ने प्रश्नमा यसबारे कुनै पनि कानुन नभएको बताउनुभयो । व्यक्ति एउटा भए पनि मानिसहरूका पर्सनालिटी फरक हुन सक्छ। कहिले प्रहरीको रूपमा होला, कहिले बुवा, कहिले के होला।

कुनै विषयलाई लिएर भिडिओ खिच्यो फेरि पछि गएर अर्को विषय बनाएर सार्वजनिक गर्ने क्रम छ। यो ठीक छैन,’ उहाँले भन्नुभयो,‘तर यस घटनामा प्रहरीले उदारणीय व्यवहार गर्नुपर्छ। समाजको रक्षा गर्नुपर्छ। कोही आक्रोशित नै भए पनि नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ।’‘कुटपिट गर्नुहुन्न भन्ने मान्यता छ। मानिसहरू उत्तेजित भएपनि प्रहरी संयमित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ। यसमा ट्राफिक प्रहरीको गल्ती छ,’ उहाँले थप्नुभयो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार