रघुगंगा गाउँपालिकाले भोटेकोशी बाढीपीडितलाई दुई लाख सहयोग

म्याग्दी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि म्याग्दीको रघुगंगा गाउँपालिकाले रु. दुई लाख आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो ।

बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रभावितको उद्धार र राहतमा सघाउने उद्देश्यले सहयोग गरिएको गाउँपालिका अध्यक्ष भकबहादुर भण्डारीले जानकारी दिनुभयो ।

सरकारले विपद प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग गर्न आह्वान गरेसँगै विभिन्न स्थानीय तह, संघसंस्था तथा व्यक्तिहरूबाट सहयोग जुट्ने क्रम जारी छ ।

बुधबार बिहान आएको भोटेकोशीको भीषण बाढीले रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा व्यापक क्षति पुर्‍याएको छ । बाढीका कारण बस्ती तथा बजार क्षेत्रसँगै प्रहरी कार्यालय, सडक र जलविद्युत् आयोजनाका संरचनासमेत प्रभावित भएका छन् ।

बाढीबाट भएको मानवीय क्षतिको यकिन विवरण भने अझै सार्वजनिक हुन सकेको छैन । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सुरक्षाकर्मी, स्थानीय तह तथा राज्यका विभिन्न निकाय परिचालित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार