‘आमा समूहसँग उपमेयर’ कार्यक्रम मार्फत महिलालाई सिपमुलक तालिम

  म्याग्दी न्युज संवाददाता

बेनी । महिलालाई आत्मनिर्भर बनाउन म्याग्दीको बेनी नगरपालिकाले सञ्चालन गरेको ‘आमा समूहसँग उपमेयर कार्यक्रम’ वडा नम्बर ९ को दुई ठाउँका महिलालाई सिपमुलक तालिम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग, वडा नम्बर ९ को कार्यालयको समन्वय र उत्साही आमा समूहको आयोजनामा तोरीपानीमा आलुको चिप्स र नेप्टेचौरमा घतान मुल आमा समूहको आयोजनामा नमकिन र ढालमोठ बनाउने तालिम सम्पन्न भएको हो ।

शुक्रबारदेखि शुरु भएको तालिम बुधबार सम्पन्न भएको बेनपा–९ ,का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो । आमा समूहलाई परिचालन गरेर महिलाहरुको आर्थिक र सामाजिक शसक्तिकरण गर्ने उद्देश्यले आमा समूहसँग उपमेयर कार्यक्रम सञ्चालन गरिएको हो । महिलाहरुलाई आर्थिक रुपमा सक्षम, आत्मनिर्भर, स्वाभलम्बि र सामाजिक रुपमा शसक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले बताउनुभयो ।

“समुदाय स्तरमा महिला शसक्तिकरण र सामाजिक कामको अगुवाई गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोत, साधन र सम्भावना भएको उद्यम व्यवसायी गरि आयआर्जनका काममा संलग्न गराउन खोजिएको छ,” उहाँले भन्नुभयो “महिला आर्थिक रुपमा सक्षम भए भने हिंसा न्युनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडी आउन सक्ने हुनेछन् ।”

नगर उपप्रमुख लामिछानेको प्रस्तावमा कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । चालु आर्थिक वर्षमा र २० लाख रूपैयाँ बिनियोजन भएको कार्यक्रमका लागि नगरपालिकाले वडा नम्बर ३ र ९ लाई छनौट गरेको छ । दुई वटा वडाका तीन÷तीन वटा आमा समूहले आयआर्जन र सिपमुलक काम शुरु गरेका छन् ।

घतानको सिकाई केन्द्रले शुक्रबार र शनिबार लागू औषध विरुद्धको सचेतना कार्यक्रम सञ्चालन गरेको थियो । बेनपा–३, को स्वर्गाश्रम, बेलढुङ्गा र मण्डली आमा समूहले स्थानीय जातका कुखुरापालन शुरु गरेका छन् । तीन वटा समूहमा आवद्ध ३५ जनालाई खोर निर्माणमा अनुदान, तालिम, चल्ला वितरणको कार्यक्रम बनाइएको वडा अध्यक्ष रत्न जिसीले बताउनुभयो ।वडा नम्बर ९ को गलेश्वर आमा समूहमा आवद्ध २० जना महिलाहरुका लागि शुक्रबारदेखि चप्पल बनाउने तालिम सञ्चालन भैरहेको छ । तालिममा सहभागिलाई व्यवसाय गर्न कच्चा पदार्थ, सामग्री र औजार सहयोग गर्नुका साथै बजारीकरणमा सघाउने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार