काँग्रेसका महामन्त्री थापा घोडेपानीमा

  म्याग्दी न्युज संवाददाता

घोडेपानी । काँग्रेसका महासचिव गगन थापाले पार्टीका नेताहरुलाई कार्यकर्तामुखी बनाउन विधान संसोधन गरिने बताउनुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा मंगलबार साँझ स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा महामन्त्री थापाले काँग्रेसको संगठन बलियो बनाउन बिधानमा संसोधनको प्रस्ताव लैजाने बताउनु भएको हो ।

“उमेद्वार बन्न वडा, पालिका र जिल्ला तहकै कार्यकर्ताबाट अनुुमोदित हुुनुपर्ने बिधानमै व्यवस्था गर्न आवश्यक छ,” उहाँले भन्नुभयो “नेतालाई कार्यकर्ता र जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन बिधान संसोधन गर्न छलफलमा छौ ।” थापासँग स्थानीय कार्यकर्ताहरुले पार्टीको नेतृत्व र चुनावमा उमेद्वारलाई टिकट पाउनका लागि नेताको वरिपरि घुम्ने र कार्यकर्तालाई वेवास्ता गरेका गुनासो गरेका थिए ।

प्रतिनिधिसभा सदस्य समेत रहनुुभएका थापासँग घोडेपानीका होटल व्यवसायीहरुले कोभिडपछिको पर्यटन अझै लयमा फर्कन नसकेको, जलवायु परिवर्तनको असर पर्यटन व्यवसायमा पनि परेको र सडकका कारण विस्थापित पदमार्गको विकल्प बनाउनुपर्ने बनाउन अनुरोध गरेका थिए ।

थापाले नेपालीहरुलाई विदेश भन्दा पनि पहिले नेपालनै घुम्ने वातावरण बनाउन सकेमा नेपालको पैसा विदेशिन रोकिने बताउनुुभयो । घोडेपानीका होटल व्यवसायी सपना गुरुङले पुराना पदमार्गलाई जोगाएर सडक बनाउन आवश्यक रहेको बताउनुभयो ।

अर्का होटल व्यवसायी जुली ठकुरी पुनले कोभिडका कारण थलिएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रर्वद्धनात्मक गतिबिधिमा जोड दिनुपर्ने बताउनुभयो । सडकका कारण पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तब्यको पहिचान र प्रर्वद्धन गर्न उहाँले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहनुभएका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुुनले कास्कीको नयाँपुल घोडेपानी हुदै पोखरेबगर जोड्ने पोखरा बेनी जोमसोम सडकको वैकल्पिक सडक बनाउनुपर्ने बताउनुभयो । भुरुङ–तातोपानीका होटल व्यवसायी प्रेम गुरुङले टानले संकलन गर्ने करको सदुपयोग नभएको गुनासो गनुभयो ।

पुुर्वमन्त्री समेत रहनुभएका थापाले घोडेपानी पुनहिल क्षेत्रको पर्यटन पूर्वाधार निर्माण र प्रर्वद्धनका लागि राज्यको लगानी भित्र्याउन पहल गर्ने बताउनुभयो । नेता थापा पदयात्राका लागि कास्कीको उल्लेरी हुुदै मंगलबार साँझ घोडेपानी आउनुभएको हो ।

उहाँलाई घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुुन, होटल व्यवसायी टेकसर पुन लगायतले स्वागत गर्नुभएको थियो । मंगलबार बिहान पुनहिलबाट दृष्य अवलोकन गरेर कास्कीको घान्द्रुक जाने कार्यक्रम रहेको थापाको भ्रमण टोलीका सदस्यले बताएका छन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार