रैथाने बाली प्रदर्शनीमा म्याग्दीका १८ कृषक पुरस्कृत

  म्याग्दी न्युज संवाददाता

बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले परम्परागत रैथाने बालीको खेती र उत्कृष्ट फसल उत्पादन गर्ने म्याग्दीका १८ जना कृषकहरुलाई पुरस्कृत गरेको छ । राष्ट्रिय कृषि जैविक विविधता दिवस, २०८० को अवसरमा बेनीमा आयोजित रैथाने बाली र कृषि मेला प्रर्दशनीमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृत गरिएको हो ।

म्याग्दी उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिले आयोजना गरेको दशौ माघे संक्रान्ति मेलामा रैथाने बाली र कृषि प्रर्दशनी गरिएको थियो ।

काउली, लहरेबाली, जरेबाली, फलफुल, उखु र बिबिध बालीमा ४९ जना कृषकले कृषि उपज प्रर्दशनी गरेका थिए । प्रत्येक बिधामा प्रथम, दृतीय, तृतीय भएका कृषकहरुलाई क्रमश  रु. दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सयका दरले पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिव बास्तोलाले बताउनुभयो । पुष २९ गतेदेखि प्रर्दशनी शुरु भएको थियो ।

रैथाने बालीको संरक्षण, उपभोग बढाउने र कृषकलाई प्रतिस्पर्धी बनाउने उद्देश्यले प्रर्दशनीको आयोजना गरेको केन्द्रका कृषि प्राबिधिक सम्झना आचार्यले बताउनुभयो । प्रर्दशनीमा स्थानीय जातको मुला, फर्सी, सिताके च्याउ, सिलाम, लट्टे, निगालोको टुसा, जुनेलो र चरेलाको सुकुटी, सिस्नोको धुलो, कुभिण्डो, ढकायो लगायत कृषि उपज राखिएको थियो ।

काउली बर्गमा अन्नपूर्ण–६ का टेजबहादुर बरुवाल, लहरेबालीमा बेनी नगरपालिका–५ का लिलाकुमारी बानिया, जरेबालीमा रघुगंगा–१ का ठकबहादुर पुन पुरस्कृत हुनुभएको छ । फलफुल तर्फ बेनी नगरपालिका–४ बास्कुनाका तिलक गुरुङ, उखुतर्फ बेनी नगरपालिका–९ का भिमबहादुर सुवेदी र बिबिध बालीमा मंगला–२ तोराखेतका थमप्रसाद पौडेलको आलु प्रथम भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार