मच्छिमको भूमे युवा क्लव सामाजिक कार्यमा सक्रिय

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७, मच्छिममा रहेको भूमे युवा क्लवले विभिन्न सामाजिक कार्य गरेको छ । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर सो कार्य गरेको हो । क्लवका पुर्व अध्यक्ष मिलन छन्त्याल (सेरबहादुर)ले मच्छिमको डाडामा दृष्य अवलोकन स्थल, सार्वजनिक शौचालय, प्रतिक्षालय निर्माण गरिएको जानकारी दिनुभयो ।

मच्छिमको दृष्य अवलोकन स्थलबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरी, गुर्जा लगायत हिमालको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । त्यहाँ जानकारी र सूचनामुलक वोर्ड राखिएको छ ।पूर्वाधार निर्माणमा करिब रु। नौ लाख खर्च भएको पुर्व अध्यक्ष छन्त्यालले बताउनुभयो । गर्मीमा शितल र चिसोमा घाम ताप्दै दृष्य अवलोकन गर्न सकिने भएको छ । पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ ।

यसैगरी शवदाह स्थल बनाएको, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छन्त्यालले जानकारी दिनुभयो । हेम नमुना आवासीय मावि, काफलडाडा, मच्छिमको भूमे आधारभूत, फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्री सहयोग गरिएको छ ।

गाउँका विपन्नहरुलाई दाल, चामल सहयोग गरिएको छन्त्यालले बताउनुभयो । युवाहरुलाई फुर्सदको समयमा सामाजिक काम र खेलकुद गतिबिधिमा सहभागी गराउदै आएको छ । नयाँ वर्षको अवसरमा आगामी बैशाख ४ गतेदेखि खेलकुद प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने तयारी क्लवले गरेको छ ।मच्छिम गाउँमा १२० घरधुरीको बसोबास छ । अलपसंख्यक छन्त्याल, दलित, थकाली, क्षेत्री र मगर समुदायको बसोबास रहेको छ । गाउँपालिकाको केन्द्र मुना जोड्न मुल सडकमा मच्छिम गाउँ समेटिएको छ । मच्छिम गुरील्ला पदमार्गमा पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार