मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन (तस्बिरहरु)

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–३,मौवाफाँट स्थित मौवाफाँट मगर समाजको नवनिर्मित भवन उद्घाटन गरिएको छ । वडा ,गाउँपालिका , प्रदेश सकार,चन्दा सहयोग र श्रमदानबाट निर्माण भएको उक्त भवनको शनिबार आयोजित एक कार्यक्रमका विच मगर समाजका संस्थापक अध्यक्ष एवं ज्येष्ठ नागरिक सुवेदार दलबहादुर गर्बुजाले उद्घाटन गर्नुभयो ।


५५ लाख ४८ हजार ४९ रुपैयाँ लागतमा एक तले बहुउदेश्यीय सभाहल सहितको भवन निर्माण भएको मौवाफाँट मगर समाज अध्यक्ष यामकुमारी गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार, भवन निर्माणमा २५ लाख ९ हजार ४४९ व्यक्तिगत चन्दा संकलन गरिएको र मौवाफाँटमा रहेका २३ घरधुरी मगर समुदायले ४ लाख ६९ हजार तीन सय रुपैयाँ बराबराको श्रमदान गरेका थिए । उहाँले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।


विक्रम संवत् २०७७ देखि निर्माण थालिएको हो । मुख्य सडकदेखि करिब सात सय मिटर पहुँचमार्ग सडक समेत निर्माण गरिएको छ । एक रोपनी ९ आना जग्गा खरिद गरेर निर्माण गरिएको भवनमा करिब तीन सय ५० जना क्षमताको सभाहल,परिसरमा शौचालय ,खेलमैदान रखानेपानीको व्यवस्था गरिएको छ । भवन निर्माणमा रघुगंगा गाउँपालिकाको १० लाख रुपैयाँ, वडा कार्यालय मार्फत १ लाख रुपैयाँ, तत्कालिन प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा गण्डकी प्रदेश सरकारबाट ८ लाख रुपैयाँ बजेट उपलब्ध भएको समाजका निवर्तमान अध्यक्ष मेखबहादुर गर्वुजाले जानकारी दिनुभयो ।


भवन निर्माण भएपछि सभा, समारोह, तालिम, बैठक, भेला, प्रशिक्षण लगायतका कार्यक्रम संगै विवाह, वर्तबन्ध लगायतका संस्कारजन्य कार्यक्रहरु गर्न समेत सहज हुने मौवाफाँट मगर समाजका कोषाध्यक्ष थम बुद्धुजाले बताउनुभयो । वि.स. २०५३ सालदेखि समाजको अवधारण अनुसार मगर समदायको एकता र सदभाव बढाउन समाजले भूमिका खेलेको बताउँदै भवन निर्माण भएसंगै समाजको संस्थागत विकासमा फड्को मारेको उहाँले बताउनुभयो ।


कार्यक्रमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापा मगर, रघुगंगा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा,  मगर स‌ंघ रघुगंगा अध्यक्ष राेशन शेरपुञ्जा मगर  , अग्रज लोक गायिका धनकुमारी थापा लगायतले मगर समाजको भवनले सार्वजनिक र संस्कारजन्य गतिविधि सञ्चालन गर्न सहयोग पुग्ने बताउँदै मगर समुदायको भाषा, भेषभुषा र संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । मौवाफाँट मगर समाज अध्यक्ष यामकुमारी गर्वुजाको अध्यक्षता, उपाध्यक्ष चन्द्र शेरपुञ्जाको स्वागत र कोषाध्यक्ष थम बुद्धुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती समेत राखिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार