म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिँदा एक दम्पत्तीको मृत्यु भएको छ । ताकमको आरखोलामा गयराती घर माथिबाट खसेको पहिरोमा पुरिएर ६५ वर्षिय तुलप्रसाद न्यौपाने र उहाँकी श्रीमती ४९ वर्षिया बालकुमारी न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकाकारी प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।
उहाँका अनुसार,घटनास्थलमा पुगेको प्रहरी टोली ,जनप्रतिनिधि र स्थानीबासीहरुले घटनास्थलमा शव बाहिर निकालेका छन् ।केही दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।