बेनी । म्याग्दीको बेनी–दरबाङ सडकखण्डमा पहिरो जाँदा एक सातादेखि यातायात अवरुद्ध बनेको छ। सो सडकखण्ड अन्तर्गत बेनी नगरपालिका–४, र मङ्गला गाउँपालिका–२,को सिमानामा पर्ने फापरखेतमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो।धवलागिरि, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक पहिरोका कारण अवरुद्ध बनेपछि यात्रु र यातायात व्यवसायीले सास्ती व्यहोर्नुपरेको छ।
फापर खेतमा निरन्तर खसेको पहिरोको कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोले बेनी–दरबाङ सडकमा सिधा याता अवरुद्ध बनेपछि म्याग्दीका पश्चिम भेगका नागरिकले सास्ती व्यहोर्न बाध्य भएको यातायात व्यवसायी कमल फगामीले बताउनुभयो । बर्खाको समयमा दर्जनौ पटक मर्मत गरिएपनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको फापरखेतको पहिरो सधैँको टाउको दुखाइ बनेको छ ।