म्याग्दी बहुखुमी क्याम्पसमा राष्ट्रिय गोष्ठी सुरू

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित म्याग्दी बहुमुखी क्याम्पसमा दुई दिने राष्ट्रिय गोष्ठी सुरु भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा शुक्रबारदेखि आयोजित गोष्ठीको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाशुदेव काफ्लेले उद्घाटन गर्नुभयो ।प्रमुख अतिथि काफ्लेले विश्वभर उच्च शिक्षा छनौटमैत्री कि जनमैत्री भन्ने बहस रहेको बताउँदै नेपालले उच्च शिक्षा छानिएकालाई नभई सबैको पहुँचमा हुनुपर्नेमा आफ्नो धारणा राख्दै आएको बताउनुभयो ।

गोष्ठीमा पिएन क्याम्पस पोखराका प्राध्यापक डा। मिन पुनले शैक्षिक गुणस्तरका लागि शिक्षक क्षमतावान हुनुपर्ने र विद्यार्थीलाई दोष दिएर शिक्षक पन्छिन नपाउने धारणा राख्नुभयो । उहाँले शिक्षकको क्षमताले नै विद्यार्थीको गुणस्तरमा सुधार हुने बताउनुभयो ।गोष्ठीको उद्घाटन सत्रमा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष बालकृष्ण सुबेदी, सञ्चालक समितिका सदस्य लगायत म्याग्दी, बागलुङ, पर्वतबाट सहभागिता रहेको थियो ।

क्याम्पसका अनुसन्धान विभाग प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले गर्नुभएको थियो ।क्याम्पस प्रमुख श्रीधर सुबेदी, युजिसी नेपालका नारायण भण्डारी सहित प्राज्ञिक ब्यक्तिको सहभागिता रहेको गोष्ठीमा म्याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसन्धानत्मक लेखको प्रस्तुती सहित गुणात्मक र मात्रात्मक तथ्याङ्कहरुलाई विश्लेषण गरिने छ।

गोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीति सुधार, सेमेस्टर प्रणाली र वार्षिक प्रणाली, पाठ्यक्रम डिजाइन र कार्यान्वयन, विद्यार्थी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुशासन, अनुशासन अभ्यासहरू सामाजिक मिडिया,उच्च शिक्षा र एआई, विद्यार्थी छाड्ने र प्रतिभा पलायनका विषयबस्तुमा छलफल गदैं शनिबार अर्थात भदौ १ गते शनिबार सम्पन्न हुने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार