म्याग्दीका बाराही मन्दिरहरुमा बिहानैदेखि भक्तजनको घुइँचो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीका विभिन्न बाराही मन्दिरहरुमा सोमबार बिहानैदेखि पूजाआजा र दर्शनका लागि तिर्थालु, भक्तजन एवम् धार्मिक पर्यटकहरुको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा पर्वका अवसरमा उच्च पहाडी क्षेत्रमा रहेका ताल तलैया र बाराही मन्दिरहरुमा पूजाअर्चना र दर्शन ठुलो सख्यामा भक्तजनहरु पुगेका छन् ।

समुद्री सतहदेखि ४ हजार सातसय मिटर उचाईमा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ खयरलेकमा अवस्थित खयरभारानी, वडा नम्बर ८ को नाङ्गी बाराहीमा भक्तजनहरुले चिच्याउँदै वर माग्ने प्रचलन छ । यहाँ एकपटकमा एउटा मात्र वर मागेमा पूरा हुने धार्मिक विश्वास छ ।

कसैले छोराछोरी, कसैले धनसम्पत्ति, कसैले सुखशान्ति, सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी तथा सेनामा भर्तीको वर माग्छन् । आफूले माग्न चाहेको वर यहाँका पुजारीलाई भनेपछि पुजारीले चिच्याउँदै वर मागिदिने प्रचलन छ ।

जनैपूर्णिमाका दिन खयरभारानीको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास छ ।  खयरभारानीको दर्शन गर्न पाँच सयभन्दा बढि  भक्तजन पुगेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संरक्षक राजु पुनले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी, पर्वत, बागलुङ, कास्की र काठमाडौँ लगायतका जिल्लाबाट ठुलो सख्यामा भक्तजन आएका छन् । कोषले दर्शन र पूजाको सम्पूर्ण व्यवस्था मिलाएको छ । वडा नम्बर ८ मा स्थित नाङ्गी बराहमा पनि ठुलो संख्यामा भक्तजनहरु पुगेका छन् ।

यसैगरी, रघुगंगा गाउँपालिका–८ को रिखार, वडा नम्बर ७ को कालीबराह ताललगायतका ठाउँमा पनि भक्तजनहरु दर्शनका लागि पुगेका छन् । बराह, बाराही र भारानी ताल र मन्दिरहरुमा पूजा आजा गरेर वर मागेमा मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।

रघुगंगा गाउँपालिका–८, मा धौलागिरि हिमालको काखमा करिब चार हजार पाँच सय मिटर उचाईमा अवस्थित रिखारमा समेत उल्लेख्य मात्रामा भक्तजनहरु आएको स्थानीय सप्तऋषि युवा क्लबका संरक्षक अंकित पुनले जानकारी दिनुभयो ।

जनैपूर्णिमाको दिन खयरभारानी, रिखार, कालीबराह तालकासाथै नाङ्गीबाराही, भगवतीको नौलीबाराही र घराम्दीको प्यारी बराही लगायतका थान र तलाउमा भक्तजनहरुको पूजाका लागि पुगेपछि चहलपहल बढेको छ । गोरखापत्र अनलाइन 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार