म्याग्दीका नारायण जिसी नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित

  म्याग्दी न्युज संवाददाता

बेनी । म्याग्दीका निर्माण व्यवसायी नारायण जिसी नेकपा एमालेनिकट नेपाल निर्माण उद्योग परिषद् गण्डकी प्रदेशको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । काठमाडौंमा सम्पन्न एमालेसम्बद्ध निर्माण व्यवसायीहरुको छाता सङ्गठन नेपाल निर्माण उद्योग परिषदको पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट जिसी उपाध्यक्ष निर्वाचित हुनुभएको हो ।

साधारणसभा तथा अधिवेशनले नेपाल निर्माण उद्योग परिषदको केन्द्रीय अध्यक्षमा भने दाङका बलिभद्र राना र खुल्ला उपाध्यक्षमा सुरेन्द्र पाठक चयन हुनुभएको छ । उपाध्यक्षतर्फ गण्डकीमा म्याग्दीका जिसीसँगै कोशी प्रदेशको उपाध्यक्षमा कमल गौतम, मधेशमा राम सुरत देव, बागमतीमा नारायण बडाल, लुम्बिनीमा प्रकाश शाह, कर्णालीमा लक्ष्मण प्रकाश पोखरेल र सुदुरपश्चिम प्रदेशको उपाध्यक्षमा कृष्णबहादुर साउच चयन हुनुभएको छ ।

यसअघि परिषदको केन्द्रीय सदस्य रहनुभएका जिसी शनिवार र आइतबार काठमाडौंमा सम्पन्न साधारणसभा तथा अधिवेशनबाट उपाध्यक्ष निर्वाचित हुनुभएको हो । म्याग्दीको एक मात्र क्रसर व्यवसायी जिसीले दुई कार्यकाल निर्माण व्यवसायी संघ म्याग्दीको नेतृत्व हाँकिसक्नुभएको छ भने हाल संघको निवर्तमान अध्यक्ष हुनुहुन्छ । जिसी म्याग्दी उद्योग वाणिज्य संघका महासचिव हुनुहुन्छ ।   नेकपा एमाले बेनी नगरपालिका कमिटीको निवर्तमान अध्यक्ष समेत रहनुभएका जिसीले अहिले पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य एवं युवा फाँट इन्चार्जको जिम्मेवारी सम्हाल्नुभएको छ ।

म्याग्दीको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा क्रियाशील व्यवसायी जिसी गंगा जिसी फाउण्डेशन म्याग्दीको संस्थापक अध्यक्ष बनेर दिनदुःखी, गरिब तथा विपन्न वर्गलाई सहयोग समेत गर्दै आउनुभएको छ । म्याग्दीमा २०६५ सालदेखि जिसी क्रसर उद्योग स्थापना गरी सञ्चालन गर्दै आउनुभएका व्यवसायी जिसीले नेपाल निर्माण उद्योग परिषदको उपाध्यक्षमा निर्वाचित गराउनुहुने र सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिनुभयो ।

निर्माण व्यवसायीको सहयोगविना देशको विकास निर्माण असम्भव रहेको बताउँदै नवनिर्वाचित उपाध्यक्ष जिसीले राज्यले निर्माण व्यवसायीहरुको पक्षमा सहज वातावरण बनाउनुपर्ने माग गर्नुभयो । उहाँले जिल्लाको विकास निर्माणको लागि परिषदको तर्फदेखि आवश्यक पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार