७० अर्ब लागतमा बूढीगण्डकी जलविद्युत् परियोजना बन्दै

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ —गोरखामा ७० अर्ब रुपैयाँ लगानीमा ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् परियोजना निर्माण हुने भएको छ । साहस ऊर्जाको मुख्य लगानीमा टाइम्स इनर्जीद्वारा प्रवर्द्धित बूढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् परियोजना रहेको जनाइएको हो ।

परियोजनाका लागि बैंकबाट ५२ अर्ब ५० करोड रुपैयाँ कर्जा लिइएको छ । यो परियोजनामा साहसको १७ अर्ब ५० करोड रुपैयाँ अर्थात् ५१ प्रतिशत लगानी हुनेछ ।

बूढीगण्डकी जलविद्युत् परियोजनाको वार्षिक क्षमता १८६७.७७ गिगावाट हुनेछ । यसैगरी मुख्य सुक्खा समयमा ३२०.३० गिगावाट, सामान्य सुक्खा समयमा २४३.४३ गिगावाट र वर्षा समयमा १३०४.०४ गिगावाट उत्पादन क्षमता हुने जनाइएको छ । परियोजनाको प्रतिमेगावाट खर्च २० करोड ५३ लाख रुपैयाँ रहेको बताइएको छ । परियोजना निर्माणपछि

३० वर्षका लागि विद्युत् खरिदबिक्री दर सुक्खायाममा १०.५५ प्रतियुनिट, सामान्य सुक्खायाममा ८.४० प्रतियुनिट र वर्षायाममा ४.८० प्रतियुनिट पर्नेछ ।

बूढीगण्डकीको बाँध क्षेत्र चुमनुव्री गाउँपालिकाको वडा नम्बर ३ र विद्युत् गृह धार्चे गाउँपालिकाको ३ मा पर्ने मुख्य लगानीकर्ता कम्पनी साहसले जनाएको छ । लगानीकर्ताले परियोजना सम्पन्न गरी ०८७ सालको पुस १५ सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । परियोजनाको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सकिइसकेको, वातावरणीय प्रभाव मूल्यांकन स्वीकृति र वित्तीय व्यवस्थापन अन्तिम चरणमा रहेको जनाइएको छ ।

‘यस परियोजनाका मुख्य भौतिक संरचना भूमिगत रहेका कारण भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यून छ,’ टाइम्स इनर्जी व्यवस्थापनले भनेको छ, ‘यस परियोजनाका लागि आवश्यक सडकको ट्र्याक खुलिसकेको छ ।’

यस कम्पनीको मुख्य प्रवर्द्धकबाट यस परियोजनाभन्दा अघि पाँच मेगावाट क्षमताको रुरु जलविद्युत् परियोजना र ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविद्युत् परियोजना सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिसकेको बताइएको छ । ‘विद्युत् परियोजना निर्माणमा अनुभवी र सक्षम सञ्चालक समितिका साथै दक्ष र योग्य व्यवस्थापक समिति भएकाले बूढीगण्डकी परियोजनाको प्रतिफल पनि उच्च रहने आकलन गरिएको छ,’ टाइम्स इनर्जीको भनाइ छ । कान्तीपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार