काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपालका विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीहरूलाई निजामती सेवामा सिधै प्रवेश गराउनका लागि कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलका क्रममा सांसद खनालले विश्वविद्यालयमा ‘गोल्ड मेडल’ प्राप्त गर्ने विद्यार्थीलाई नेपालमा नै सेवा दिने वातावरण बनाउनुपर्ने प्रस्ताव गर्नुभएको हो।
निजामती सेवामा युवाहरूलाई आकर्षित गर्ने र विश्वविद्यालयमा सर्वोत्कृष्टलाई नेपालमा नै काम गर्ने वातावरण बनाउनका लागि निजामती सेवाका उच्च पदहरूमा बाहिरका व्यक्तिहरूको सिधै नियुक्ति (ल्याटरल इन्ट्री) को व्यवस्था राख्नुपर्ने प्रस्ताव खनालले राखेका हुन् । ‘नेपाली विश्वविद्यालयका टपरहरू (गोल्ड मेडलिस्ट) लाई सिधै निजमती सेवामा प्रवेशका लागि कानुन बनाउनुपर्छ । निजामती सेवा विधेयकमा ल्याटरल इन्ट्रीको व्यवस्था गरौं जसका कारण नेपालका विश्वविद्यालय टप गर्नेहरूले अमेरिका, अस्ट्रेलियाका युनिभर्सिटीहरूमा प्रोफेसर बन्ने भन्दा पनि नेपालको निजामती सेवामा प्रवेश गरुन्,'<span;>खनालको प्रस्ताव थियो । यस्तो व्यवस्था गर्दा मुलुकको निजामती सेवाप्रति आकर्षण बढ्ने उहाँको तर्क थियो ।
युवाहरूलाई निजामती सेवामा आकर्षित गर्नका लागि पनि कानुनी व्यवस्था निजामती विधेयकमा राख्नुपर्ने बताउनुभयो ।
त्यस्तै, आरक्षणको व्यवस्था एक व्यक्तिलाई एक पटकका लागि मात्रै गर्नुपर्ने प्रस्ताव पनि खनालले राख्नुभएको छ । उनले एउटै व्यक्ति आरक्षणबाट सेवा प्रवेश गर्ने र त्यसपछि पनि बारम्बार आरक्षणबाट नै पदोन्नती हुने व्यवस्था सही नभएको बताउनुभयो ।
सांसद खनालले सहसचिवमा खुला प्रतिस्पर्धाको व्यवस्था राख्न नहुने पनि बताउनुभएको छ । उहाँले सिधै सहसचिवमा खुला प्रतिस्पर्धाबाट आउँदा अनुभवकाे कमीका कारण काममा प्रभाव पर्ने बता उनुभयो । सहसचिव पद आन्तरिक प्रतिस्पर्धाबाट गर्नुपर्ने उहाँको भनाइ छ । कान्तिपुर