म्याग्दी । पर्वतको जलजला गाउँपालिका–१, बाँसखर्क सुन्तला गाउँको नामले समेत परिचित बाँसखर्कमा सुन्तला महोत्सव सम्पन्न भएको छ । जलजला गाउँपालिका र वडा नम्बर १ को कार्यालयद्धारा शुक्रबार आयोजित महोत्सवमा सुन्तला खेती सम्बन्धी प्रबिधी प्रसार, कृषक र सरोकारवालाहरुबीच साक्षात्कार, सुन्तला प्रर्दशनी, उत्कृष्ट कृषकलाई पुरस्कृत गर्नुका साथै स्थानीय मौलिक पुरख्यौली, भजन र पञ्चेबाजा प्रर्दशनी गरिएको थियो ।
बाँसखर्कका पाखाभरी पहेँलपुर बनेको गाउँमा आयोजित सुन्तला महोत्सवले कृषि पर्यटन प्रर्वद्धन र मौलिक लोक संस्कृतिको संरक्षणमा पनि सहयोग पुगेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठ, उद्योग तथा पर्यटन मन्त्री मित्रलाल वस्याल लगायत साँसद , मन्त्रालयका सचिवहरु लगायत सँग सडक, सिँचाई, खानेपानी र पहिरोको विषयमा कृषक तथा जनप्रतिनिधीहरुले ध्यानाकर्षण गराएका थिए ।
बेनी देखि बाँसखर्क जोड्ने छोटो दुरिको बगरफाँट–बाँसखर्क सडक योजनाको ठेक्का लागेपनि आठ वर्षसम्म काम नभएको र योजनानै हराएको विषयमा अध्यक्ष आचार्यले मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले घरघरमा धारा निर्माण र मिटर जडान भएपनि खानेपानी वितरण हुन नसकेको समस्याका बारेमा जानकारी गराउनुभयो । मुख्यमन्त्री पाण्डे, मन्त्री र सांसदहरुले बाँसखर्क जोड्ने सडक स्तरोन्नति, सिँचाई सुविधा, सुन्तला खेती विस्तार र बजारीकरणमा सघाउने प्रतिवद्धता जनाउनुभयो । कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै मुख्यमन्त्री पाण्डेले बसाईसराई रोकिने, कृषि उपज उत्पादन वृद्धि र बजारीकरणमा सहयोग पुग्ने गरि सडक, सिचाई र खानेपानीका पूर्वाधारका योजना सञ्चालन गरेको बताउनुभयो । “सुन्तला ढुवानीका लागि तपाईँहरुले ब्यहोर्दै आइरहेको समस्यालाई हामी छिट्टै सम्बोधन गर्नेछौं,” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले चालु आर्थिक वर्षमा जलजला गाउँपालिकाको विभिन्न पूर्वाधार योजनाका लागि प्रदेश सरकारले ११ करोड रुपैयाँ बजेट बिनियोजन गरेको जानकारी गराउनुभयो ।
कृषिमन्त्री श्रेष्ठले सुन्तला खेती विस्तार र बजार प्रर्वद्धनका लागि बाँसखर्क लगायत जलजला गाउँपालिकामा पहाडी काष्ठफल विकास परियोजना (नाफा) लागू भएको र सो मार्फत कृषकहरुलाई विभिन्न शिर्षकमा अनुदान दिइने बताउनुभयो । बाँसखर्कमा दुई सय ३९ घरधुरी बसोबास रहेकामा धेरैले सुन्तला खेती गर्दै आएका छन् । समुन्द्रि सतहदेखि एक हजार एक सय देखि एक हजार नौ सय मिटर उचाईमा अवस्थित एक हजार पाँच सय रोपनी क्षेत्रफलमा सुन्तला खेती भएको बाँसखर्कमा यस वर्ष १८ करोड ४४ लाख ४७ हजार रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन भएको वडा नम्बर १का वडा अध्यक्ष जगबहादुर रोकाले जानकारी गराउनुभयो । उहाँका अनुुुसार, एक जना कृषकले वार्षिक चार लाख देखि ३५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्छन् ।बाँसखर्कका कृषिकले अन्यत्रको सुन्तला बिक्री भइसकेपछि माघ महिनादेखि सुन्तला टिप्न थालेका छन् । बाँसखर्कमा खेती हुने सुन्तलालाई रैथाने जात प्रमाणित गरिएको छ । महोत्सवको अवसरमा ५ जना अगुवा कृषकहरुलाई पाँच हजार रुपियाँ सहित सम्मान गरिएको थियो । अतिथिहरुलाई सुन्तलाको माला लगाएर स्वागत र सुन्तलानै उपहार दिएर बिदाई गरिएको थियो ।