काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पछिल्लो छोटो समयमा देखिएको राजनीतिक अस्थिरताले मुलुकको अर्थतन्त्र, व्यापार र उद्योगलगायतका क्षेत्रमा पारेको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा परेको प्रतिकूल असरबाट लयमा फर्काउन लागिएको पनि बताउनुभयो। ‘यसबीचको केही अन्तरालको बहुतै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यस प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढङ्गले लयमा फर्काउन, गतिशील बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउन चाहन्छौँ ।’
नेपालको आयस्तर न्यून अवस्थामा रहेकाले त्यसमा परिवर्तन ल्याउनका लागि काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यसका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले आग्रह गर्नुभएको थियो ।
नेपालको सूचना प्रविधि क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले तीव्रताका साथ विकासका कामहरू अघि बढाइरहेको उल्लेख गर्दै आईटी क्षेत्रमा पनि उल्लेख्य रूपमा अघि बढिरहेको बताउनुभयो। ‘अब आईटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्त्वपूर्ण अंग बनिसकेको छ । नेपाल अगाडि बढ्दै छ, अझ तीव्रताका साथ अगाडि बढ्न चाहिरहेको छ,’ उहाँले भन्नुभयो।प्रधानमन्त्री ओलीले आईटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सकिने हिसाबले सरकार अघि बढेको बताउनुभयो । उहाँले पूर्वाधार नभई देशको विकास हुन नसक्ने पनि बताउनुभयो। त्यसका लागि सबैको पहल आवश्यक रहेको उहाँको धारणा थियो । कान्तिपुर