
बेनी। म्याग्दीको मालिका गाउँपालिका–४, ओखरबोट स्थित ओखरबोट माविमा दिवंगत आफन्तको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।ओखरबोटका स्व कलबिर पुनको स्मृति तथा सम्मानमा परिवारले अक्षयकोष स्थापना गर्नुभएको हो । पुर्व गोर्खा सैनिक समेत रहनुभएका कलवीरका श्रीमति भीमसरा पुन, छोराहरु इन्द्रबहादुर पुन, यामबहादुर पुन, उदारबहादुर पुन,सोमबहादुर पुन लगायत बुहारी र नाति नातिनाहरुले अक्षयकोष स्थापनाका लागि सहयोग गर्नुभएको हो ।
कलविरको गत माघ २ गते बेलायतमा निधन भएको थियो । सामाजिक सेवामा सक्रिय स्व.पुन लामो समयसम्म ओखरबोट स्थित विजेङ सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष भएर काम गर्नुभएको थियो । गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले स्थापना भएको कोषलाई कलवीर स्मृति छात्रवृत्ति अक्षयकोष नामाकरण भएको छ । कलविरका परिवारका सदस्यहरुले मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा अक्षयकोषको रकम हस्तान्तरण गर्नुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्कबहादुर पुनको अध्यक्षता, प्रअ नवीन कार्कीको सञ्चालन र शिक्षक नविन पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा हिराबहादुर पुनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।