
म्याग्दी । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को ८औं संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीस्थित बौद्ध विश्व विद्यालयमा हुने भएको छ । फोनिजले सोमबार बुटवलमा पत्रकार भेटघाट गर्दै धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले विशेष मानिएको गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा महाधिवेशन आयोजना हुन लागेको हो । महाधिवेशनको उदघाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुहुनेछ ।
फोनिज संघीय महाधिवेशनको सबै तयारी करिब पूरा भएको फोनिज महासचिव समीर बलामीले जानकारी दिनुभयो । महाधिवेशनमा पाँचसय प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने उहाँको भनाइ छ ।
महाधिवेशनमा देशभरका आदिवासी जनजातिका पत्रकार, संचारकर्मी, सामाजिक संस्थाहरू र नीति निर्माताहरू सहभागी हुने अपेक्षा छ । फोनिजले यस अवसरमा पत्रकारिताको चुनौती, सूचनाको अधिकार र सांस्कृतिक पहिचान जस्ता विषयहरूमा गहन छलफल गरिने बताएको छ ।
फोनिजको ६६ जिल्लामा समिति रहेको छ । आठ जातीय पत्रकार संगठन आवद्ध छन् भने आठ विदेश शाखा रहेको फोनिज पदाधिकारीहरुको भनाइ छ । फोनिजमा साढे चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् । लुम्बिनीमा हुने आठौं महाधिवेशनले ५३ सदस्यीय संघीय समिति गठन गर्नेछ ।