
बेनी । म्याग्दीका सामुदायिक विद्यालयले वैशाख १४ गतेदेखि पठनपाठन संचालन गर्ने भएका छन्। शिक्षक आन्दोलन अन्तर्गतको शैक्षिक आम हड्तालमा सहभागिता सँगै जिल्ला स्थित सामुदायिक विद्यालयमा पठनपाठन सुरू गर्ने निर्णय भएको नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुवेदीले बताउनुभयो ।
‘हामी काठमाडौंमा भएका साथीहरुबीच छलफल गरी यहाँ (काठमाडौं) नआएका जिल्लामा भएका शिक्षक साथीहरुको उपस्थितिमा म्याग्दीका साुमदायिक विद्यालय वैशाख १४ गतेदेखि पुर्णरुपमा खुलाउने निर्णय गरेका छौं ,’ उहाँले भन्नुभयो ,‘माग पुरा नहुँदा सम्म हामी काठमाडौंमै रहन्छौं ,उता साथीहरुले पनि विद्यालयमा पढाउँनेछन् ।’
पुर्ण रुपमा विद्यालय खुलाएर भर्ना अभियान र पुस्तक वितरणको काम थाल्ने अध्यक्ष सुवेदीको भनाइ छ । यद्यपी जिल्लाका केही स्थानीय तहको समन्वयमा केही सामुदायिक विद्यालयमा भर्ना अभियान र पुस्तक वितरण सुरु गरिसकेका छन् । विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनलाई सरकारले सम्बोधन गर्नेभन्दा पनि झनै जटिल बनाइरहेको अवस्थामा आन्दोलन लम्बिएका शिक्षक अगुवाहरुको गुनासो छ ।यता सामुदायिक विद्यालय बन्द हुदाँ संस्थागत विद्यालयमा भर्ना भएर पढाइ सुरू भएको छ ।शिक्षक आन्दोलनका कारण ११ गतेदेखि संचालन हुने भनिएको कक्षा १२ को परिक्षा वैशाख २१ गतेदेखि सुचारु गर्ने सारिएको छ ।