म्याग्दी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान ओली सरकारलाई विदाई नगरे देशले थप संकट व्यहोर्नुपर्ने बताउनुभएको छ । नेपालको संविधानको हत्या गर्ने प्रधानमन्त्री ओलीसँग सहकार्य गर्नु लोकतन्त्र बिरोधीलाई समर्थन गर्नु सरह भएको बताउँदै पौडेलले संसदमा पेश हुने अविश्वासको प्रस्तावमा कांग्रेसले कुनैपनि हालतमा साथ दिनुपर्ने बताउनुभयो ।
नेपाली कांग्रेस म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको छैटौँ दिनको पुण्यतिथिको अवसरमा आइतबार सदरमुकाम बेनीमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हरेक गतिविधि लोकतन्त्र विरोधी र संविधानको रक्षाका लागि बाधक भएकाले बर्हिगमन अपरिहार्य भएको बताउनुभयो । ‘संविधानको हत्या गर्न खोज्ने तानाशाही ,लोकतन्त्री विरोधी र अधिनायकबादी ओली सरकारलाई हटाउनुको विकल्प छैन् ,’वरिष्ठ नेता पौडेलले भन्नुभयो ,‘संकटको समयमा देशलाई निकास दिन पनि कांग्रेसले अग्रसरता लिनुपर्ने समय आएको छ ।’
‘नयाँ राजनीतिक परिस्थितिमा काँग्रेसले ढुलमुल नीति लिने अवस्था छैन । खास कुरा गर्नुपर्दछ । गम्भिर कुरा गर्नुपर्दछ । काँग्रेस भनेको प्रष्ट कुरा गर्दछ, यसको नीति प्रष्ट छ । काँग्रेसले खसोखास कुरा गर्दछ भन्ने कुरा जनातालई विश्वास दिलाउनुपर्दछ,’ उहाँले भन्नुभयो । नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर नयाँ सरकारका लागि पहल गर्नुपर्ने बताउनुभयो । ‘केपी ओलीको नेतृत्वमा निर्वाचन सम्भव नै छैन्। निर्वाचन हुने अवस्था आएपनि अहिलेको सरकारले गर्न सक्दैन् । गरेपनि ठूलो दुर्घटना हुन्छ’, उहाँले थप्नुभयो ।‘अब पनि ओलीलाई हटाउन ध्यान नदिए । कांग्रेस र लोकतन्त्र दुबै खतरामा पर्छ । प्रतिपक्षमा बस्ने भएपनि यो सरकारलाई हटाउनैपर्छ’, नेता पौडेलले भन्नुभयो।
सम्बोधनका क्रममा नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई सत्ता र नियुक्तीमा प्रधानमन्त्री ओलीको प्रलोभन देखाइरहेको समेत बताउनुभयो । कम्युनिष्टहरुमा आएको विघटनले मुलुकमा अस्थिरता निम्तीएको उहाँँको भनाइ थियो । नीति र सिद्धान्तमा एकता नभएकाले कम्युनिष्टहरुमा भाडमैलो मच्चिएको उहाँले बताउनुभयो । सत्तामा बाँडीचुँडी खानका लागि मिलेका कम्युनिष्टहरु भागबण्डा नमिलेका कारण एकता भंग भएको नेता पौडेलको भनाई थियो ।
संसद विघटनसम्मको निर्णय गर्ने प्रधानमन्त्री ओलीलाई अझै सत्तामा बस्ने वातावरण बनाए थप लोकतन्त्र संकटमा पर्ने नेता पौडेलको भनाइ थियो। ‘सर्वोच्चले एमाले र माओवादीलाई अस्तित्वमा ल्याउनु नै एउटा सेटिङ हो । मागभन्दा एक कदम अघि बढेर गरिएको अदालतको पछिल्लो फैसला पनि अर्को विकृति हो’, नेता पौडेलले भन्नुभयो । राष्ट्रियता, प्रजातन्त्र र समाजबाद पार्टीको सिद्धान्त हो यसका वारेमा प्रष्ट रुपमा जनताका विचमा काँग्रेसले कुरा राख्न सक्नुपर्ने उहाँको भनाई थियो ।
अधिकांश समय प्रधानमन्त्री ओलीविरुद्ध खनिएका नेता पौडेलले विकृत राजनीतिकै श्रृंखलालाई निरन्तरता दिनबाट रोक्न नयाँ सरकार आवश्यकता रहेको बताउनुभयो । ‘ओलीलाई धेरै सत्तामा टिके भने लोकतन्त्र नै सखाप हुन्छ’, नेता पौडेलले भन्नुभयो । उहाँले पार्टी सभापति देउवाले ओलीविरुद्ध बोल्न नसक्नुमा केही स्वार्थ लुकेको हुनसक्ने समेत बताउनुभयो । उहाँले जसपा र माओवादी केन्द्रको साथ पाए कांग्रेसले सरकारको नेतृत्वमा एकमत भएर निर्णय गर्ने समेत बताउनुभयो ।
श्रद्धाञ्जली सभामा म्याग्दी, बागलुङ र पर्वतका कांग्रेस नेताहरूको समेत सहभागिता रहेको थियो । बेनी नगरपालिका–८ संगमचोक निवासी खड्काको गत मंगलाबार विहान राती चार बजेको ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति बनेका थिए। कांग्रेस म्याग्दीले स्वर्गीय खड्काको सम्झनामा केही योजना बनाएर काम गर्ने सभापति खमबहादुर गर्बुजा खम्बिरले बताउनुभयो । सभापति गर्बुजाको अध्यक्षता ,उपसभापति माधवप्रसाद रेग्मीको स्वागत र सहसचिव भरत रकालले कार्यक्रम संचालन गर्नुभएको थियो ।