बेनी । पछिल्लो समय कौसीखेतीतर्फ आकर्षित भएपछि बेनी नगरपालिका वडा नं ७ ले तालिम सञ्चालन गरेको छ । भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन गरी सानो परिवारका लागि घरको छतमा गमलामा तरकारी तथा फलफूल रोपेर गरिने खेतीलाई ब्यवस्थित गर्न वडा कार्यालयले उपभोक्तसँग साझेदारीमा तालिम तथा आवश्यक साम्रागी खरिद गरी कौसीखेतीलाई ब्यवस्थित गरेको हो ।
वडाभित्रका अधिकांस घरमा भइरहेको कौसीखेतीलाई थप ब्यवस्थित गर्नुका साथै महत्वका बारेमा समेत जानकारी दिइएको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए । उनले गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्रमा पनि घरपरिवारले तरकारी उत्पादन गर्न सक्ने बताए ।
तालिममा अग्गानिक तरकार खेतिको आवश्यकता, माटोको तयारी, बाली छनौट, बेर्ना उत्पादन, बेर्ना सार्ने प्रक्रिया, मलखाद ब्यवस्थापन, सम्भवित रोग र निदानका उपाय र बाली भित्र्याउने प्रक्रिया सिकाइएको थियो । वडा कार्यालयको बार्षिक बजेट अन्तरगत उक्त तालिम सञ्चालन गरिएको थियो । तालिममा स्थानीय जातका तरकारी लगाउन प्रोत्साहन गरिने र हाइब्रीड जातको समेत जानकारी गराइने अध्यक्ष श्रेष्ठले बताए ।
भान्साबाट निस्कने फोहरलाई ब्यवस्थापन गरि मल बनाउन विधि समेत तालिम समेत प्राप्त गरेपछि सहज भएको बिरेन्द्रचोककी सिर्जना भट्टचनले बताईन् । तालिममा सहभागिले कौसीमा रोपेको तरकारीले प्रयाप्त नभएपनि घरभित्रको फोहोर ब्यवस्थापन र समयको सदुपयोग हुने गरेको बताएका थिए । अर्गानिक र विषादीरहित तरकारी खान कौसी खेती उपयोगी हुने भएकाले हरेक बर्ष तालिम सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ ।