नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जको रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शय्याको अक्सिजनसहितको आइसोलेसन केन्द्र स्थापन गरिएको छ । उप–महानगरपालिकाका कार्यबाहक नगरप्रमुख उमा थापा मगरले बिहीबारदेखि कोभिडका बिरामीहरुको उपचार सुरु गर्ने गरी आइसोलेसन केन्द्र तयार पारिएको बताउनुभयो ।
भेरी अस्पतालको प्रत्यक्ष निगरानीमा उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गर्न लागेको कार्यबाहक नगरप्रमुख मगरले जानकारी दिनुभयो । उपमहानगरपालिकाले आइसोलेसन वार्ड सञ्चालन गरेपछि भेरी अस्पतालमा बिरामीको चाप कम हुनेछ । नेपालगञ्ज उपमहानगरपालिकाले सामान्य बिरामीका लागि ह्वाइट हाउसमा समेत आइसोलेसन वार्ड सञ्चालन गरिरहेको छ । आइसोलेसन वार्ड तयार गरेको उपमहानगरपालिकाले कोरोना परीक्षणका लागि स्वाव संकलन कार्य समेत सुरु गरेको मगरले बताउनुभयो ।
अस्पतालमा संक्रमितहरुको लागि बेडको अभाव देखिएपछि स्थानीय पालिका र वडा कार्यालयहरुले कोभिड आइसोलेसन निर्माण गर्न सुरु गरेका छन् । त्यस्तै नेपालगञ्ज उपमहानगरपालिका–४ को कार्यालयले आफ्नै वडामा निर्माण गर्न शुरु गरेको आईसोलेसन कक्षको काम पनि अन्तिम चरणमा पुगेको छ । वडाध्यक्ष मोहम्मद सफिक बेहनाले अक्सिजन सहितको १० बेडको कोभिड आइसोलेसन आइतबारदेखि सञ्चालनमा आउने जानकारी दिनुभयो ।
अध्यक्ष बेहनाका अनुसार आइसोलेसनमा ३ वटा सिसिटिभी क्यामेरा, वाइफाई सबै जडान गरिने भएको छ । अस्पताल सञ्चालनका लागि २ जना मेडिकल अफिसर, ४ जना स्टाफ नर्सका लागि वडा कार्यालयले दर्खास्त आव्हान गरिसकेको पनि अध्यक्ष बेहनाले जानकारी दिनुभयो । नागरिक खबरबाट