मस्कटबाट शनिबार ६ सय अक्सिजन सिलिन्डर ल्याइने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६ सय थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ । गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको जनाइएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करिब ४ सय थान अक्सिजन कन्सन्ट्रेटर ४ सय थान सिलिन्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिन्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पुर्याउन कठिन भएका बेला संस्थाले चीनबाट १ सय अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५ सय ५० सिलिन्डर शनिबारसम्म काठमाडौं पुर्याउने प्रयासमा रहेको जनाए ।

ओमानपछि हरेक दिन ५ सय ५० थान सिलिन्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उनले बताए । निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०–१२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।

निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४ सय थान अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौं ल्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार