देशभर ७ सय ५० पत्रकारमा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं । हालसम्म ७ सय ५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा महासंघले सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिलसमेत गरेको छ ।

महासंघले च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण ३४ वर्षको अल्पायुमै भएको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । महासचिव रोशन पुरीले आज विज्ञप्ति जारी गरी स्व पत्रकार कार्कीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका छन् ।

गत वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौँको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

चौध दिनदेखि उपचाररत कार्कीको शनिबार साँझ ८ः०० बजे उपचारका क्रममा निधन भएको हो । झापाको साबिक दोरामारी गाविस निवासी कार्की विगत डेढ दशकदेखि काठमाडौँमा रही पत्रकारितामा सक्रिय थिए ।

महासंघ च्यानल नेपाल शाखाको हालसमेत तीन कार्यकाल अध्यक्ष भएका कार्की प्रेस चौतारी नेपालको पनि केन्द्रीय सदस्य हुन् । “उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको छ, साथै शोकको यस घडीमा महासंघ शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ”, विज्ञप्तिमा भनिएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार