विराटनगर । मोरङको रङ्गेलीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा आज बिहान एक महिलाको शव फेला परेको छ । रङ्गेली नगरपालिका–३ का बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार रङ्गेली–३ स्थित तिलुवा चोकनजिकको नहरमा अनिताको शव भेटिएको हो । पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको जानकारी राईले दिनुभयो । ‘प्रारम्भिक अनुसन्धानबाट घाँटी रेटेर हत्या गरेपछि शव नहरमा फ्यालेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘घटनास्थलमा प्रहरीको विशेष टोली परिचालन गरेर गम्भीर रुपले घटनाको अनुसन्धान थालिएको छ ।’
प्रहरीका अनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन । हत्यामा संलग्नको पनि पहिचान हुन सकिरहेको छैन ।इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अनमोल खड्का नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । खड्का नेतृत्वको टोलीले हत्यामा संलग्नको पहिचान गर्ने प्रयास गरिरहेको छ । रातोपाटीबाट