मनाङ । अविरल वर्षाका कारण आएको बाढीले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरा पूर्णरुपमा क्षतिग्रस्त भएको छ । एक घरमा आंशिक क्षति पुगेको र ४० घर प्रभावित भएका छन् ।
डुबानमा परेको र क्षति पुगेका घरबाट मानिस र सामान सुरक्षित स्थानमा सामान सारिएको छ । शनिबार दिउँसोदेखि मौसममा सुधार आएको हुँदा थप क्षति नहुने अनुमान गरिएको छ ।
स्थानीय खोलामा आएको बाढीले सदरमुकाम चामेमा एक पक्की घरसहित चार टहरामा पूर्ण क्षति पुगेको हो । ३८ घरमा बाढीले ल्याएको गेग्र्यान, बालुवा, ढुंगा तथा माटोसहितको लेदो पसेर बस्न नहुने अवस्था भएको प्रहरी नायव उपरीक्षक सुवास खड्काले बताउनुभयो । उहाँका अनुसार त्यो खबर प्राप्त हुनासाथ घरमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास खड्काको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले ती घरमा सफाइ गरी पुनः बस्न लायकको बनाएको छ । उहाँले भन्नुभयो, ‘बाढीको कारण विस्थापित भएका चार परिवारका २३ जना र माल सामानहरु सुरक्षित स्थानमा सारिएको छ ।’
शनिबार दिउँसोदेखि पानी पर्न बन्द भएको हुँदा अब थप नोक्सान र जोखिम नहुने विश्वास गरिएको प्रहरी नायव उपरीक्षक खड्काले बताउनुभयो । उहाँका अनुसार जिल्ला सदरमुकाम रहेको चामे गाउँपालिका–४ स्थित नयाँबजारको घट्टेखोलामा अचानक पानीको बहाव बढ्न गई सोही स्थानमा रहेको पक्की पुललाई काठ, ढुंगा र माटोले पुरी उक्त खोलाको पानी नयाँबजारतर्फ पसेको थियो । खड्काले भन्नुभयो, ‘बाढीका कारण सोही वडा बस्ने कर्मा छुमु गुरुङको घरको पछाडिको भाग भत्काई घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । सोही वडामा सञ्चालित धर्म महर्जनको घर (सांग्रिला होटल) को पछाडिको भाग भत्किएर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।’
अनिता गुरुङको घरमा मिलन गुरुङले भाडामा सञ्चालन गर्दै आएको फ्रेस हाउस र कर्मा घलेले सञ्चालन गर्दै आएको किनारा पसलको केही भाग बगाएको छ । रिमजिम डोल्कर लामाको वीरजंग गुरुङ भाडामा बस्दै आएको घरमा समेत बाढी पसी आंशिक रूपमा क्षति पुर्याएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीका कारण डुबानमा परेको एवं क्षति पुगेका घरबाट सुरक्षित स्थानमा सामान स्थानान्तरण गरिएको छ । त्यस्तै चामे गाउँपाकिला–४ नयाँबजारस्थित वर्कसपमा पार्किङ गरी राखिएका डुबानमा परेका ७ वटा मोटरसाइकल उद्धारका क्रममा निकालिएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले पक्की पुलको वरिपरिको भाग समेत बाढीले बगाएको बताउनुभयो । मनाङमा बाढी आउँदा बिहीबार मात्रै २ वटा काठे पुल बगाएको थियो । अहिले विभिन्न स्थानमा बाटो अवरुद्ध छन । चामे गाउँपालिका–१, तिमाङ खोलामा बाढीले मानिस हिँड्ने काठे पुल बगाएको छ । काठे पुलमुनि सवारीसाधन आवतजावत गर्ने बेलिब्रिज धरापमा परेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । नागरिक खबरबाट