
काठमाडौँ । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताउनुभएको छ । बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरूले आ–आफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए।
कोरोना महामारीका कारण विश्वविद्यालयहरूको शैक्षिक गतिविधि खासै अघि बढाउन नसकेको उपकुलपतिहरूको भनाइ थियो। यसै विच त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले कोरोना महामारीका कारण स्नातक पहिलो वर्षका परीक्षा १९ महिनादेखि रोकिएको बताउनुभयो।
उहाँले गत वर्ष कोरोना महामारीमै विश्वविद्यालयले अनलाइनबाट कक्षा सञ्चालन गरेको भए पनि दूरदराजका विद्यार्थीको पहुँचमा अनलाइन शिक्षा पुग्न नसकेको बताउनुभयो। उहाँले गत वर्ष अनलाइन कक्षा सञ्चालनकै क्रममा डिन कार्यालय र परीक्षा नियन्त्रण कार्यललयले वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गत वर्षनै प्राज्ञिक परिषदले निर्णय गरेको जनाउनुभयो। उहाँले त्यहीअनुसार अब डिन कार्यालयल र परीक्षा नियन्त्रण कार्यालय जानुपर्ने आग्रह गर्नुभएको छ।
‘त्रिविको ७६ जिल्लामा उपस्थिति छ,’ उपकुलपति बाँस्कोटाले भन्नुभयो, ‘त्रिविको १२५ टिचिङ युनिट छ। सबैसँग हामीले दुई सातासम्म अबको शिक्षा कसरी लाने भनेर छलफल गरेका थियौं। ललितकला, हिन्दी संस्कृत र विराटनगरको नर्सिङको कक्षा अनलाइन सञ्चालन अझै हुन सकेको छैन। अन्यमा हामीले माइक्रोसफ्ट टिमबाट अनलाइन कक्षा सुरु गरेका छौं।’
१९ महिनादेखि रोकिएका स्नातक पहिलो वर्षका परीक्षाहरूको रुटिङ असार १५ बाट प्रकाशित गर्ने त्रिविको तयारी छ। साउन अन्त्यसम्म सबै परीक्षा सकिन्छ।’ उहाँले परीक्षाहरू डिन कार्यालयसँग सम्बन्धित भए उक्त कार्यलयले अनुकूल विधि प्रयोग गरी परीक्षा लिने र परीक्षा केन्द्रसँग सम्बन्धित भए अनुकूल वैकल्पिक विधि अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन गरिएको छ।
कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा. पुण्यप्रसाद रेग्मीले सातवटै प्रदेशका आंगिक कलेज सञ्चालन भएको र अबको पठनपाठन गराउन र परीक्षा सञ्चालन समेत अनलाइनबाटै गर्न कार्यविधि पास भएको बताउनुभयो। ‘हामीले अनलाइन कक्षाको र परीक्षाको कार्यविधि पास गरीसकेका छौं।
सोहीअनुसार अबको पठनपाठन अघि बढ्छ,’ उपकुलपति रेग्मीले भन्नुभयो, ‘यस अघि पनि हाम्रो विश्वविद्यालयले सैद्धान्तिक परीक्षा अनलाइन र प्रयोगात्मक परीक्षा भौतिक उपस्थितिकै आधारमा लिएका थियौं। हाम्रो विश्वविद्यालयमा वन, कृषि तथा मत्यस्यपालनलगायतका विषयहरू पठनपाठन हुन्छ। त्यही भएर प्रयोगात्मक परीक्षा भौतिक उपस्थितिमै गर्नुपर्ने हुन्छ।’
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति प्राडा यादव प्रसाद लामिछाने, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवराज कोइराला, पोखरा विश्वविद्यायका उपकुलपति प्राडा प्रेमनारायण अर्याललगायतका उपकुलपतिहरूले विश्वविद्यालयका अधिकांश विद्यार्थीहरू दूरदराजका निम्न वर्गकै भएकोले अनलाइन पठनपाठनमा विद्यार्थीको पहुँच पु¥याउन समस्या र चुनौती बनेको अवगत गराएका थिए। उनीहरूले सहरी क्षेत्रका विद्यार्थीहरूमा भने अनलाइन कक्षा प्रभावकारी भएको पनि बताउनुभयो। nagariknews.nagariknetworkबाट