एमाले जुट-फुटको टुंगो आज, दुवै पक्षले बोलायो बैठक

काठमाडौं । पार्टी एकताका लागि निरन्तर वार्ता चलिरहेको छ । तर, आज एमालेका दुवै पक्षले बैठक बोलाएका छन् । संस्थापन पक्षले बालुवाटारमा दिनको ४ बजे बैठक राखेका छन् । पार्टीको आन्तरिक कारण भन्दै बुधबार स्थगित भएको एमालेको स्थायी कमिटी बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा पार्टीलाई फुट्नबाट बचाउने विषयमा छलफल हुने जनाइएको छ। यसअघि पार्टीको ‘एकता बचाउन’ भन्दै भइरहेका प्रयासलाई मध्यनजर गरेर बुधबारको स्थायी कमिटी बैठक स्थगित गरेका थिए ।माधव नेपालले पनि आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग भर्चुअल बैठकको आयोजना गरेका छन् ।

नेपालले आयोजना गरेको बैठकमा सहभागी नहुन एमालेले निर्देशन दिइसकेको छ । आज बिहान विज्ञप्ति जारी गर्दै एमाले पार्टी सचिव शेरबहादुर तामाङले ‘अनधिकृत व्यक्ति’ले बोलाएको बैठकमा सहभागी भए कारवाही गर्ने चेतावनी दिएको छ । एमालेका महासचिव ईश्वर पोखरेल र माधव नेपाल पक्षका नेता योगेश भट्टराई पछिल्लो समय पार्टी एकता जोगाउन गम्भीर ढंगले लागेका छन् ।

ओली पक्षका नेता सुवास नेम्वाङ, शंकर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु पार्टी एकताका लागि भन्दै वार्ता गरिरहेका छन् । त्यस्तै, नेपाल पक्षका योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द पाण्डे लगायतका नेताहरु पार्टी एकता जोगाउन वार्तामा सक्रिय भएका छन् ।

एमाले संस्थापन पक्षले पनि अन्तिम समयसम्म पार्टी एकताका लागि प्रयास जारी राख्ने भन्दै चार दिनदेखि निरन्तर स्थायी कमिटी बैठक स्थगित गर्दै आएको छ । स्थायी कमिटी निर्णयबाट नै पार्टीका १२ नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ नआउँदा समेत कारवाही प्रक्रिया अघि बढाएको छैन । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार