मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा वितण्डा मच्चाएको छ । त्यहाँ रहेको विद्युत गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ ।
सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्युत् गृह पनि बगाएको छ । त्यस्तै सदरमुकाम चामेमा ४ वटा घर बाढीले बगाएको क्षति पुर्याएको छ । नासों गाउँपालिका १, ताल गाउँको आधा बस्ती डुबानमा परेको छ ।
मस्र्याङ्दीमा उर्लिएको बाढीले भानु माविसहित ताल गाउँको आधा बस्ती डुबानमा परेको हो । करिब ५६ घरधुरी रहेको उक्त गाउँका बासिन्दा पहरामुनि गएर बसेको र केही लमजुङ सीमा क्षेत्र म्यार्दीभिरतर्फ आएको स्थानीयले बताए ।
जिल्ला प्रहरी कार्यालय, मनाङका डीएसपी सुवास खड्का अनुसार घट्टेखोलामा आएको बाढीले ढुंगामुढा थुपारिदिँदा चामे बजारको पुल थुनिएको छ । पुल थुनिँदा यसअघि बगाउन लागेको एउटा घर र थप काठका ३ वटा घर बगाएको उहाँले बताउनुभयो । dhorpatannewsबाट