
पर्सा । पर्सामा चट्याङ लागेर आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार चट्याङ लागेर सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको हो ।
सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको आज बिहान ७ बजे चट्याङ लागेर मृत्यु भएको हो । यादव भैंसी चराउन गएका थिए ।
त्यसैगरी आजै बिहान भैंसी चराउन गएका सखुवाप्रसौनी– १ गदियानीका २७ वर्षीय रोसुला गदीको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । गदीसँगै रहेका राजबली गदी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि वीरगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।
त्यस्तै खेतमा रोपाइँ गर्न गएकी जिराभवानी– ३ जितपुर बस्ने ५० वर्षीया असुतरनीदेवी थरुनीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । थरुनीसँगै रहेका अन्य ३ जना सामान्य घाइते भएका छन् । नागरिक खबरबाट