काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिनुभएको छ । सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री परिवर्तन हुने भएपछि महान्यायाधिवक्ता बडालले राजीनामा दिनुभएको हो ।
बडालले आज मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । महान्यायाधिवक्ता बडालको आजै बिदाइ हुनुहुनेछ । एक बजे बिदाइ कार्यक्रम राखिएको छ । ‘प्रधानमन्त्रीमार्फत राष्ट्रपतिलाई राजनीनामा बुझाउनुभयो । एक बजे बिदाइ कार्यक्रम छ,’ बडालले भन्नुभयो ।
महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहाकार हो । सोही हैसियतमा बडालले संसद विघटनविरुद्धको मुद्दामा सरकारको पक्षमा बहस गर्नुभएको थियो । सर्वोच्चले सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । सर्वोच्चको फैसला अनुसार देउवाले आजै प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ ।
महान्यायाधिवक्ता राजनीतिक नियुक्ति भएकोले सरकार परिवर्तनसँगै बडालले राजीनामा दिनुभएको हो । अग्निप्रसाद खरेलले राजीनामा दिएपछि ०७७ साल चैत ६ गते बडाल महान्यायाधिवक्ता नियुक्त हुनुभएको थियो । अनलाइनखबरबाट


























