काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सपथ खुवाउनुभएको छ ।मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा भण्डारीले प्रधानमन्त्री देउवालाई शपथ खुवाउनुभएको हो ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएको राष्ट्रपति कार्यालयले जनाएको छ। सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न अन्तरिम आदेश जारी गरेको थियो।
राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी देउवालाई प्रधानमन्त्री नियुक्त गरेको जनाएको थियो।संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीको नियुक्ति भए पनि राष्ट्रपति कार्यालयले सो कुरा उल्लेख नगरीकन प्रधानमन्त्री नियुक्ति गरेको पत्र जारी गरेको थियो।
उक्त भाषा परिमार्जन गर्नुपर्ने भन्दै साँझ ६ बजे राखिएको सपथग्रहणमा देउवा सहभागी भएका थिएनन्। भाषा सच्याइएपछि देउवाले सपथ लिएको राष्ट्रपति कार्यालय स्रोतले जनायो।
त्यस्तै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै माओवादी केन्द्र र आफ्नो दलबाट २-२ जना मन्त्री नियुक्त गर्नुभएको हो ।
उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराउनुभएको हो ।गृहमन्त्रीमा बालकृष्ण खाँण र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्कीलाई मनोनित गर्नुभएको थियो ।
नवनियुक्त प्रधानमन्त्री देउवा नेतृत्व सरकारमा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ।