
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्ना प्राथमिकता निर्धारण गरेको छ। मंगलबार राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको सरकार प्रवक्ता एंव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो।
मन्त्री कार्कीका अनुसार देउवा सरकारले १० वटा प्राथिकमता तय गरेको छ।
जसमा १) शान्ति सुव्यवस्था, २) कोभिड-१९ को रोकथाम, नियन्त्रण र उपचार, ३) आर्थिक समृद्धि, ४) कोभिड-१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरूत्थान, ५) विकास निर्माण कार्यमा तीव्रता, ६) सार्वजनिक सेवाको प्रभावकारी वितरण, ७) संविधानको रक्षा, ८) संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, ९) विपदको प्राथमिकताका साथ व्यवस्थापन र १०) स्थानीय निर्वाचन रहेका छन्।
विशेष सल्लाहकार नियुक्त गरिने
कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रूपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ। सल्लाहकारले सरकारको काम कारवाहीलाई व्यवस्थित रूपमा अगाडि बढाउन सहयोग गर्नेछ।
कोभिड-१९ को रोकथाम नियन्त्रण र उपचारका लागि हालसम्म भएको खर्चको सार्वजनिक गर्ने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो। यसैगरी कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न एक हप्ताभित्र विशेष प्याकेज ल्याइने भएको छ। यस्तै शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने र सरकारी, सार्वजनिक निकायमा श्रेस्ता प्रणालीमा आधारित कार्ययोजना बनाइ कार्यान्वयनमा ल्याइने भएको छ।
समग्र आर्थिक विकासका लागि विभिन्न विधामा आवश्यक दक्ष जनशक्तिको प्रक्षेपण गरी व्यवस्थापन गर्न वृहत जनशक्ति योजना तयार गरिने कार्कीले बताउनुभयो। विकास निर्माणको कामलाई तीव्रता दिने, अर्थ अभाव हुन नदिने, राष्ट्रिय हितलाई सर्वोपरी राखी छिमेकी मित्र राष्ट्रलगायत सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरुसँगको सम्बन्ध र सहकार्यलाई थप सदृढ बनाउँदै जाने सरकारको योजना छ।
मन्त्री कार्कीले परिवर्तित सन्दर्भमा मन्त्रिपरिषद् तथा यसका विभिन्न समितिमा प्रक्रियामा रहेका सम्पूर्ण प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको जानकारी दिनुभयो। सेतोपाटीबाट