काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट नेताहरुको बैठक बोलाउनुभएको छ । शनिबार केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशनका कार्यतालिका ल्याएपछि पौडेलले बैठक बोलाउनुभएको हो। पौडेल पक्षीय बैठक आइतबार दिउँसो साढे २ बजेपछि पौडेलका निवास बोहोराटारमा बस्न लागेको एक नेताले जानकारी दिनुभयो ।
ती नेताले भन्नुभयो, ‘महाधिवेशनको मिति तय भएपछि नजिक भएका र राय मिल्ने साथीहरुको बीचमा अब कसरी जाने भन्ने विषयमा छलफल गरौं भने उहाँले बैठक बोलाउनुभएको हो । म त्यहाँ जाँदै छु ।’
केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता भदौ २ गते टुंगो लगाइसक्ने निर्णयका सन्दर्भमा छलफल हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘यी सबै कुरा टुंग्याएर सबैले आ आफ्नो जिल्लामा अधिवेशनका लागि जानुपर्यो । त्यसको पूर्वतयारीका लागि आज हामी बैठक बस्दै छौं ।’
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटी बैठकपछि मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । पौडेल पक्षले आफ्नो तर्फबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा पनि छलफल हुने ती नेताले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले केन्द्रीय कमिटी बैठकपछि मन्त्रिपरिषदले पूर्णता पाउने बताउनु भएको थियो । मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइप्रति केन्द्रीय समिति बैठकमा पनि कुरा उठेका छ । मन्त्रिमण्डल विस्तार गर्दा हाम्रो तर्फबाट सरकार जाने साथीहरूका सन्दर्भमा पनि सामान्य छलफल हुन्छ नै ।’
अहिलेसम्म गठबन्धनमा मन्त्रालयगत भागबण्डा हुन नसकेकाले आजको बैठक महाधिवेशनको नयाँ कार्यपालिकापछिको रणनीतिबारे केन्द्रित हुने उनले बताउनुभयो । रातोपाटीबाट