काठमाडौँ । नवलपुरको गैंडाकोटमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट–१० स्मृतिपुल नजिकै सु.प्र.०२–००१ ख ११२३ नम्बर बस र ना६ख७१२६ नम्बरको ट्रक मंगलबार बिहान एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
बस काकँडभित्ताबाट महेन्द्रनगरतर्फ जाँदै थियो । जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलीपकुमार गिरीका अनुसार दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको छ । ज्यान गुमाउनेमा बर्दिबासगढका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कञ्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कञ्चनपुरकै ३५ वर्षीय कृष्ण राना रहेका छन् । दुर्घटनामा बस र ट्रकका चालकसहित २४ जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ । नागरिक खबरबाट