काठमाडौं । नेकपा माओवादी केन्द्रका नेतथा तथा अर्थमन्त्री जनार्दन शर्माले प्रचण्डपथ छाडेका कारण पार्टीमा टुटफुट आएको बताउनुभएको छ। पार्टीको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार गरेको कार्यक्रममा उहाँले प्रचण्डपथले विचार र संगठनलाई केन्द्रीकरण गरेको तर त्यसलाई छाड्दा टुटफुट आएको बताउनुभएको हो।
‘प्रचण्डपथले वैचारिक केन्द्रीकरण गरेको थियो, आन्दोलनको भावनालाई केन्द्रीकरण गरेको थियो तर त्यसलाई छाड्दा सबथोक विकेन्द्रीकरणतर्फ गयो’ उहाँले भन्नुभयो, ‘अब प्रचण्डपथ र एक्काइसौं शताब्दीको जनवादबाट शिक्षा लिएर समाजवादी आन्दोलनको नेतृत्व गर्ने पार्टी बनाउनुप¥यो ।’उहाँले पार्टीलाई जननियन्त्रित र जननिर्देशित पार्टीको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
‘जनताको आदेशमा चल्ने पार्टी चाहियो । नेताले गरेका गल्तीमा जनताले औंला ठड्याउन पाउनुप¥यो । हामीले गरेका गल्ती उपर जनताले भण्डाफोर गर्ने मौका पाउनुप¥यो । यस्तो खालको पार्टी बनाउनुप¥यो अब ।’माओवादी केन्द्रको संगठन विभाग प्रमुखसमेत रहेका नेता शर्माले भन्नुभयो, ‘अबको पार्टी विधि र पद्धतिमा आधारित भएर चल्छ । सफ्टवेयरको जमाना छ । प्रविधिको प्रयोग गरेर नेता कार्यकर्ताहरुको मूल्याङ्कन गरिन्छ ।’ अनलाइनखबरबाट






















