एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा आतंकवाद विरोधी २० वर्ष लामो अमेरिकी युद्धमा पाकिस्तान सहभागी हुनु गम्भीर भूल भएको बताएका छन् । सर्वसाधारणको हितभन्दा पनि ‘डलर’का लागि देश युद्धमा होमिएको उहाँले बताउनुभयो ।
राजधानी इस्लामाबादमा विदेश मन्त्रालयका अधिकारीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले भन्नुभयो, ‘अमेरिकी युद्धमा पाकिस्तान संलग्न हुनुको कारण मलाई राम्रोसँग थाहा छ । तर, आमपाकिस्तानीलाई यसबारे कुनै जानाकारी दिइएन, ’ उहाँले भन्नुभयो ।
सन् २००१ मा तत्कालिन सेना प्रमुख जनरल पर्भेज मुसरफले आतंकवादविरुद्धको अमेरिकी युद्धमा पाकिस्तानले पनि सहयोग गर्ने घोषणा गर्नुभएको थियो । एक प्रसंगमा प्रधानमन्त्री खानले पाकिस्तानले अफगानिस्तानलाई निरन्तर सहयोग गर्ने बताउनुभयो । खानले यसअघि पाकिस्तान पिुपल्स पार्टी (पीपीपी) र पूर्वप्रधानमन्त्री नवाज सरिफको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजको विरोध गर्नुभएको थियो ।
पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका प्रमुखसमेत रहनुभएको खानले पाकिस्तान मुस्लिम लिग–नवाज र पीपीपीको आलोचना गर्दै ती पार्टी नभएर केबल परिवारको विरासत मात्र भएको आरोप लगाउनुभएको थियो। ती पार्टीका नेताहरुले भ्रष्टाचारको प्रबद्धन गरेको र देशलाई तहस नहस गरेको उहाँले आरोप लगाउनुभएको थियो । नागरिक खबरबाट