
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण हालको सत्तारुढ गठबन्धन नटुट्ने बताएउनुभएको छ ।
न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले एमसीसी तत्काल पारित नहुने स्थितिमा पनि गठबन्धन नटुट्ने बताउनुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा पनि एमसीसी सम्झौतामा केही सुधार गर्नुपर्ने पक्षमा रहेको भन्दै प्रचण्डले यसले केही समय लिए पनि एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताउनुभयो। ‘अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ, अप्ठेरो नै पर्यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन ।
टुट्न हुँदैन र टुट्न दिइँदैन’ उहाँले भन्नुभयो । प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा आफ्नो कुराकानी भएको तर माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको प्रचण्डले बताउनुभयो । एमसीसी सम्झौताको आधिकारिक दस्तावेजमा संसदबाट अनुमोदन हुने विषय नभएको तर पछि समावेश गरिएको भन्दै प्रचण्डले यसैका कारण आशंका उत्पन्न भएको बताउनुभयो ।
‘यो विषयमा जहाँनिर त्रुटि भएको छ, जुन जुन प्रावधानले हामीलाई अप्ठेरो पारेको छ, जरुरी पर्दा त्यसलाई संशोधन पनि गर्नुपर्यो, गम्भीर र संवेदनशील विषय भएका कारण राजनीतिक दलहरुबीच अधिकतम सहमति गर्नुपर्यो’ प्रचण्डले भन्नुभयो। तर जबर्जस्ती पारित गर्न खोजेमा अप्ठेरो स्थिति आउने भन्दै प्रचण्डले विवादका विषय अध्ययन गर्न गठित कार्यदलले काम गरिरहेको बताउनुभयो । नागरिक खबरबाट