काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एसियाली विकास बैंक (एडिबी)को विशेषज्ञसहितको टोलीलाई आज बिहान हेलिकप्टरबाट उद्धार गरिएको छ । श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् उनीहरुको सकुशल उद्धार गरिएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक (एसपी) राजन अधिकारीले जानकारी दिनुभयो ।
चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौं ल्याइएको छ । स्थानीय पथप्रदर्शकसहित अन्य १० जनालाई भने उद्धार गरेर हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित एक होटलमा राखिएको अधिकारीले जानकारी दिनुभयो। एडीबीको विशेषज्ञ नेपाली टोली पहिरो अध्ययन गर्न मेलम्ची खोलाको उद्गमस्थल पुगेको थियो । त्यहाँ बस्दै आएको टेन्ट हिउँ पहिरोले बगाएपछि रातभर ओढारमा बस्नु परेको उहाँहरुले बताउनुभएको छ ।
गत असार १ गते आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा धनजनको व्यापक क्षति भएको थियो । मेलम्ची खानेपानी आयोजनामा पनि पहिरोले क्षति पुर्याएको छ । त्यहाँको भौगर्भिक अवस्था अध्ययनका लागि एडिबीको टोली एक साताअघि त्यता गएको थियो । एडीबी मेलम्ची आयोजनाको प्रमुख ऋणदाता पनि हो । त्यसैले खानेपानी मन्त्रालयको समन्वयमा एडिबीको टोली हेलम्बु क्षेत्रमा पुगेको थियो। अनलाइनखबरबाट