ऐनिविपरित सरुवा गरेको भन्दै गोकर्णेश्वरका तीन प्रधानाध्यापकको उजुरी

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले नगर क्षेत्रका तीनवटा सामुदायिक विद्यालयहरु सहयोगी माध्यमिक विद्यालय, सुन्ताखान माध्यमिक विद्यालय र बालसुधार माविका प्रधानाध्यापकलाई शिक्षा ऐन र स्थानीय सरकार सञ्चालन ऐनविपरित वर्खास्त गरेको पाइएको छ । सरुवाका नाममा चालिसेले तीनवटै विद्यालयका प्राध्यापकहरू क्रमशः झलक अधिकारी सुन्ताखान मावि, निर्माण न्यौपाने सहयोगी मावि र हेमराज घिमिरे वालसुधार माविका प्रधानाध्यापकलाई सरुवाका नाममा बरखास्त गरेका हुन् ।

केही समय अगाडि नगरस्तरीय बैठकमा दरबन्दी मिलान गर्दा कनिष्ठलाई मात्र पदस्थापन गर्ने, एउटै विषयको २ जना शिक्षक भए जुनियर शिक्षकलाई अन्यत्र पदस्थापन गर्ने र प्रधानाध्यापकलाई नचलाउने मापदण्ड बनाएपनि सो विपरित चालिसेले प्रधानाध्यापकलाई नै बरखास्त गरेको सरुवामा परेका प्रधानाध्यापक हरुले बताएका छन् । चालिसे आफैंले बनाएको मापदण्ड कुल्चेर राजनीतिक प्रतिशोधका आधारमा प्रधानाध्यापकहरूलाई बरखास्त गरेको उनीहरुको भनाइ छ । नगर प्रमुख चालिसेको उक्त कदमविरुद्ध तीनैजना प्रधानाध्यापकहरुले शुक्रबार नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखामा उजुरी दिएका छन् ।

‘शिक्षा ऐनको दफा १६ को ज–१,२,३ तथा ४ को व्यवस्थाको प्रतिकूल, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड–ज को व्यवस्था भन्दा बाहिर एवम् शिक्षा नियमावलीले निर्धारण गरेको न्यूनतम् विषयगत दरबन्दी संख्याको व्यवस्था विपरित कुनैपनि मापदण्ड विना विशुद्ध राजनीतिक लाभहानीको विषय बनाई निकट भविष्यको चुनावलाई केन्द्रीत गरी आफ्ना कार्यकर्ता तथा आसेपासेलाई व्यवस्थापन गर्ने उद्देश्यका साथ यस्तो पत्राचार गरिएको हो भन्ने हाम्रो निष्कर्ष रहेको छ’, दर्ता गरिएको उजुरीमा भनिएको छ । तर नगर प्रमुख चालिसेले भने नियम अनुसार नै प्रधानाध्यापक को सरुवा गरेको बताए ।

‘उहाँहरुको लामो समय भएको थियो । नगरपालिकाका केही स्कुलमा विषयगत शिक्षकहरु नभएर समस्या भएपछि नियमअनुसार नै सरुवा गरिएको हो’ चालिसेले रातोपाटीलाई बताए ।न्यौपानेलाई गोकर्ण माध्यमिक विद्यालय पाटिचौरमा सरुवा गरिएको छ भने अधिकारीलाई सहयोगी माध्यमिक विद्यालय र घिमिरेलाई सुन्ताखान माविमा सरुवा गरिएको हो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार