सत्य नडगोस्, असत्य नटिकोस् : अनशनरत टीकाप्रसाद अधिकारी

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डला, जहाँ राजनीतिक, सामाजिक, सांस्कृतिक विषयमा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन भेला, सभा, र्‍याली, प्रदर्शन, अनशन बस्ने जस्ता कार्यक्रम हुने गर्छ । तर, पछिल्लो एकसातादेखि आफूलाई कानुनसम्मत अंश दिलाइदिन माग गर्दै टीकाप्रसाद अधिकारी व्यक्तिगत माग राखेर अनशन बसिरहनुभएको छ।

चितवनको भरतपुर महानगरपालिका ११ का अधिकारी आफूलाई भाइअंश दिलाइदिन माग गर्दै माइतीघर मण्डलामा एक सातादेखि अनशन बस्नुभएको हो । कानुनी लडाइँबाट थाकेपछि आफू अनशन बस्नुपरेको उहाँ बताउँनुहुन्छ ।पाँच दाजुभाइमध्ये दुईजनाले पैतृक सम्पत्ति अंशबण्डा नगरी जालसाजी गरेर लिएपछि उहाँ कानुनी बाटोमार्फत अंश माग गर्नुभएको थियो । अंशका लागि कानुनी लडाइँमा कमाएको पैसा सकिएपछि उहाँ अनशनमार्फत न्याय खोजेको अधिकारी बताउँनुहुन्छ ।

‘दाजु दिनेशप्रसाद अधिकारीसहितले अंश नदिएपछि कानुनी संघर्ष गरेँ । तर, अंश पाउन सकिन । न्याय पाउन मुद्दा लड्दालड्दै भएका सम्पत्ति र कमाइ पनि सकियो,’ उहाँ भन्नुहुन्छ , ‘यसपछि बाध्य भएर यहाँ (माइतीघर मण्डला)मा आएर अनशन बस्नुपरेको छ ।’ अंश नपाउँदा दुःखी बनेका उहाँलाई अझ न्यायालयमा तारेखमा धाउँदा धाउँदा नपाएको न्यायले झनै मन पोलेको बताउँनुहुन्छ । उहाँले न्याय सम्पादनको शैली परिवर्तन नभए न्याय पाउन गाह्रो रहेको बताउनुभयो ।

‘कानुनको क्षेत्रमा ब्यापक सुधार हुनुपर्ने देखेँ । सधै तारिखैतारिख बोकाउने अदालतीशैली फेरियोस्,’ उहाँले भन्नुभयो, नत्र हामीलेजस्ताले न्याय पाउने आशै नगरे हुन्छ ।’ गरिबका लागि न्याय महंगो र जटिल बनेको उहाँको अनुभव छ । यसैले अहिले अनशनमार्फत आफ्नो अधिकार खोज्न माइतीघरमा बसेको उहाँ भन्नुहुन्छ । आफूले अंश पाउनुपर्ने बताउँदै अधिकारी भन्छन्, ‘सत्य नडगोस्, असत्य नटिकोस् ।’ आफूले कानुनसम्मत पाउनुपर्ने अशं नपाएसम्म अब अनशन बसिरहने बताउनुभएका टीकाप्रसाद अधिकारीले आफ्नो न्यायको लडाइँमा सहयोग गर्न सबैमा आग्रह पनि गर्नुभयो। nagarikkhabar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार