मनाङ । हिमपहिरामा परेर बेपत्ता भएका मनाङका एक किसान चार दिनपछि मृतावस्थामा भेटिएका छन्। मनाङको नासों गाउँपालिका–४ ओडारका ५३ वर्षीय आजुङ लाटा भनिने आच्यों गुरूङ आइतबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ।
चार दिनदेखि हिमपहिरामा परेर हराइरहेका गुरूङको शव गाउँमाथिको जङ्गलमा हिउँले पुरिएको अवस्थामा भेटिएको धारापानी सीमा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले जानकारी दिएको छ।
हिउँले पुरिएको अवस्थामा उनको शव निकालिएको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार प्रहरी गस्ती टोलीले नासों गाउँपालिका–४ ओडार गाउँमाथिको फ्लेमरो जङ्गलस्थित रउभिरमा हिउँले पुरेको अवस्थामा शव भेटिएको हो।
गाउँमाथि रहेको भेडीगोठबाट फर्कने क्रममा १४ गते बुधबार दिउँसोबाट गुरूङ बेपत्ता थिए।हिउँ परिरहेकाले उनी घर पुग्न सकेका थिएनन्। प्रहरीले बुधबारदेखि नै बेपत्ता गुरूङको खोजी गरेको थियो तर हिमपातका कारण उद्धारमा समस्या भएको थियो।गुरूङको शव परीक्षणका लागि लमजुङको बेंसीसहरस्थित जिल्ला अस्पताल लगिएको छ। रासस