काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी बुधबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चार वर्ष अवधिका लागि विकास ऋणपत्र २०८२ ‘च’ जारी गर्न लागेको हो ।
खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट सार्वजनिक गरिने उक्त विकास पत्र खरिदका लागि बैंकले सोमबार एक सूचना गर्दै इच्छुक लगानीकर्ताहरु दरखास्त आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुर्याएर विकास पत्र खरिदका लागि दरखास्त दिन सक्नेछन् । चार वर्षका लागि रहने यस विकास पत्र २०७८ फागुन ३ गतेदेखि शुरु भएर २०८२ फागुन ४ गते परिपक्व हुने बैंकले जनाएको छ ।
यस विकास ऋणपत्रको ब्याजदर भने लगानीकर्ताहरूले अर्धवार्षिक अर्थात् ६/६ महिनामा भुक्तानी पाउने बैंकले बताएको छ । कुल १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रमा ८५ प्रतिशत अर्थात १२.७५ अर्ब रुपैयाँ खुल्ला प्रतिस्पर्धाका आधारमा र बाँकी १५ प्रतिशत अर्थात २.२५ अर्ब विना प्रतिस्पर्धामा बिक्री गरिने बैंकले जनाएको छ । यस ऋणपत्र आवश्यक परेको बेला धितोको रुपमा समेत प्रयोग गर्न पाइनेछ । रातोपाटीबाट